एजेन्सी ।
म्यानमारमा शुक्रबार दिउँसो दुईवटा शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा गएको भूकम्पको धक्काको असर चीन र थाइल्यान्डसम्म परेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार ७ दशमलव ७ र ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको खबरमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै थियो । यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो ।
भूकम्पका कारण बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन् र नेपिडमा सडकहरू भत्किएका छन् । यसैबीच थाई सरकारले आपत्कालीन बैठक बोलाउँदैछ । अहिलेसम्म क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन ।
बैंककमा निर्माणाधिन भवन भत्कँदा दर्जनौं कामदार भवनभित्र पुरिएको र उनिहरुको खोजि तथा उद्दार थालिएको अधिकारीहरुले बताएका छन् ।