(Japan) 20 th April | 2026 | Monday | 5:53:17 PM || (Nepal) 2:38:17 PM
 
 


गाजामा इजरायली सेनाद्धारा जापान डेलि दैनिकका संवाददाता सहित दुई पत्रकारको हत्या

  POSTED ON : Thursday, 27 March, 2025 | Views : 1590

गाजामा इजरायली सेनाद्धारा जापान डेलि दैनिकका संवाददाता सहित दुई पत्रकारको हत्या


एजेन्सी ।

गाजा पट्टीमा इजरायली सेनाले हालै गरेको आक्रमणमा दुई पत्रकार मारिएका छन् । जसमा जापानी प्रमुख दैनिक पत्रिकाका संवाददाता पनि रहेको असाही शिम्बुनले खवर प्रकाशित गरेको छ ।

गाजाका अधिकारीहरूले सोमबार पत्रकारहरूको मृत्यु सार्वजनिक गरेका छन्, जापान डेलिले आफ्ना संवाददाता २९ वर्षीय मोहम्मद मन्सुर दक्षिणी गाजाको खान युनिसमा रहेको उनको घरमा मिसाइल आक्रमणमा परि मारिएको बताएको छ ।

अर्को निधन भएका पत्रकार २३ वर्षीय होसम शबत भएको परिचय खुलेको छ ।

गाजा क्षेत्रमा भएका इजरायली नरसंहारको समाचार प्रकाशन प्रशारण तथा लेख्दै आएका पत्रकारहरुलाई लक्षित आक्रमण गरेर हत्या गर्दै आएको इजरायली सेनाले मंगलबार पनि पत्रकारको हत्यापछि शबत प्यालेस्टिनी लडाकू समूह हमासका लडाकू भएको आरोप लगाएको छ तर उसले कुनैपनि प्रमाण पेश गर्न सकेको छैन । हत्या गरिएका अर्का पत्रकार मन्सुरको बारेमा भने केहि उल्लेख गरेको छैन ।

अक्टोबर २०२३ मा इजरायलले त्यहाँ सैन्य आक्रमण सुरु गरेदेखि गाजामा मारिएका पत्रकारहरूको कुल संख्या अब २०८ पुगेको छ । जस मध्ये अधिकाशं इजरायली सेनाले जानाजान रकेट, बम प्रहार तथा गोली हानेर मारेकाहरु छन् ।

टोकियोमा आधारित दैनिकले एक विज्ञप्तिमा पत्रकारहरू सहित नागरिकहरू विरुद्धको आक्रमण कुनै पनि परिस्थितिमा कहिल्यै स्वीकार्य नहुने बताएको छ ।

न्युयोर्कमा, संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले मंगलबार एक पत्रकार सम्मेलनमा इजरायलको पछिल्लो आक्रमण ूगाजा र हरेक द्वन्द्वग्रस्त क्षेत्रका पत्रकारहरूले समाचार रिपोर्ट गर्ने प्रयास गर्दा सामना गर्ने खतराहरूको अर्को उदाहरण भएको बताएका छन् । उनले पत्रकारहरूलाई जुनसुकै तरिकाले सुरक्षित बनाउनुपर्ने बताएका छन् ।

गाजा आक्रमण यता इजरायलले हालसम्म कम्तिमा ५० हजार जावावासीको हत्या गरिसकेको छ । मारिएका मध्ये अधिकांश सर्वसाधारण छन् । त्यसमा पनि बालबालिका र महिलाहरुको संख्या ७० प्रतिशत भन्दा धेरै रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।