(Japan) 25 th May | 2026 | Monday | 7:59:22 AM || (Nepal) 4:44:22 AM
 
 


इजरायलद्धारा १९ महिनामा गाजामा ५० हजार मानिसको नरसंहार

  POSTED ON : Monday, 24 March, 2025 | Views : 814

इजरायलद्धारा १९ महिनामा गाजामा ५० हजार मानिसको नरसंहार


एजेन्सी ।

हमास बिरुद्धको नाममा इजरायलले प्यालेस्टाइन गाजा क्षेत्रमा १९ महिना देखि जारी राखेको नरसंहारमा कम्तीमा ५० हजार मासिनको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।

मारिनेमा अधिकांश गाजा क्षेत्रमा रहेका प्यालेस्टाइनी नागरिक रहेका छन् । गाजास्थित त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार इजरायलसँगको युद्ध सुरु हुनुअघि हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्र अहिले पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले संचालन गर्दैआएको छ ।

युद्धपछि गाजा क्षेत्रमा इजरायली सेनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्मयहरूलाई प्रवेश गर्न दिएको छैन । विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्रसंघले समेत गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांक प्रयोग गर्दै आएको छ ।

मन्त्रालयका अनुसार मारिनेहरूको यो संख्या त्यहाँको जनसंख्याको लगभग २.१ प्रतिशत हो । इजरायलले नरसंहार थाल्नुअघि गाजाको कूल जनसंख्या लगभग २३ लाख थियो ।

१९ महिनाअघि युद्ध सुरु हुनुअघिको जनसंख्या तथ्याङ्कलाई आधार मान्ने हो भने त्यहाँ अहिले हरेक ४६ जनामा एक जना नागरिकले ज्यान गुमाइरहेका छन् । 

तथ्याङ्कअनुसार लगभग १ लाख १३ हजार २७४ जना मानिस घाइते भएका छन् । अझ लाखौं मानिस गाजा क्षेत्रमै घरबारबिहीन भएर शरणार्थी शिविरहरूमा छन् भने लाखौं मानिस छिमेकी देशमा शरण माग्न पुगेका छन् । 

यसअघि कतारको मध्यस्थतामा इजरायल र हमास युद्धबिरामका लागि तयार भएका थिए । त्यो युद्धबिराम सहमति गत मार्च १ मा सकिएको थियो । यो अवधिभरि हमासले बाचा गरेअनुसारका युद्ध बन्दीहरू छाडेपनि इजरायलले बिना सर्त सबै युद्धबन्दि नछाडेको भन्दै गाजा क्षेत्रमा नरसंहार मच्चाउन थालेको छ ।

एक हप्ताको अवधिमा इजरायली सेनाले कम्तिमा ७ सय प्यालेस्टाइनी गाजावासीको आम नरसंहार मच्चाएको छ ।

इजरेल हमास युद्धमा परेर १० जना नेपालीको मृत्यु भएको छ भने नेपाली विद्यार्थी बिपिन जोशी अझै हमासको नियन्त्रणमा रहेको विश्वास गरिन्छ ।  अहिलेसम्म उनको अवस्थाका बारेमा केही जानकारी सार्वजनिक भएको छैन ।

शनिबारमात्रै इजरेलले शरणार्थी शिविरमाथि गरेको अन्धाधुन्द रकेट आक्रमणमा हमासका बरिष्ठ नेता र उनकी श्रीमति सहित दुई दर्जन सर्वसाधारण मारिएका छन् ।

इजरायले आइतबारमात्रै लेबनानमाथि पनि आक्रमण गरेको छ। लेबनानको हिज्बुल्लाहसँग पनि उसको युद्ध जारी छ । हिज्बुल्लाहले पनि हमासलाई नै समर्थन गर्दै आएको छ । प्यालेस्टाइनी भूमि कब्जा गरेर अबैध बस्ती बसाउँदै र भूमि आफ्नो क्षेत्र विस्तार गर्दै आएको इजरायललाई अमेरिका, बेलायत, जर्मनी लगायत देशले समर्थन गर्दै आएका छन् ।

हतियार, नगद सहयोग सहित राष्ट्रसंघमा इजरायली पक्षमा उभिंदै आएका यि देशले अन्तर्राष्ट्रिय अदालतले गाजा नरसंहारमा अपराधी दोसी ठहर भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत बचाउ गर्दै आएका छन् ।