(Japan) 25 th May | 2026 | Monday | 7:59:23 AM || (Nepal) 4:44:23 AM
 
 


इजरायली नरसंहार रोकिएन : गाजामा एकैदिन कम्तिमा ३५० जनाको हत्या

  POSTED ON : Tuesday, 18 March, 2025 | Views : 856

इजरायली नरसंहार रोकिएन : गाजामा एकैदिन कम्तिमा ३५० जनाको हत्या


एजेन्सी ।

अन्तर्राष्ट्रिय अदालतबाट प्यालेस्टाइन गाजा नरसंहारका अपराधी ठहर बेन्जामिन नेतान्याहुलाई साथ दिंदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा थप आक्रमण अनुमति दिएको बताइरहँदा गाजामा एकैदिन इजरायली सेनाले कम्तिमा ३५० गाजावासीको नरसंहार गरेको छ ।

गाजाभरि इजरायली आक्रमणहरू गर्दै युद्धअपराधमा बदमामि कमाएको इजरायली सेना आईडिएफले नरसंहार मच्चाएको हो । हमाससँगको युद्धबिराम लम्ब्याउन चाहेपनि स्थायि युद्धबिराम गर्न नचाहेको इजरायल र अमेरिकी पक्षको प्रस्ताव हमासले अस्विकार गरेपछि इजरायलले एकपक्षिय रुपमा युद्धविरामलाई भंग गर्दै छिटफुट रुपमा चलेको नरसंहारलाई उग्र रुप दिएको हो । इजरायलले गाजामा ठूलो आक्रमण सुरु गर्दा कम्तिमा ३५० प्यालेस्टिनीहरू मारिएको र यसले हमाससँगको कमजोर दुई महिना पुरानो युद्धविरामलाई चकनाचुर पारेको अलजजिरा समाचार संस्थाले उल्लेख गरेको छ ।

मंगलबारको आक्रमण गाजामा भएको थियो, जसमा दक्षिणी गाजाको खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल बलाह जस्ता मध्य क्षेत्रहरू परेका छन् ।

हमास लक्षित आक्रमण गरेको पुरानै दाबी इजरायलले गरेपनि गाजाको स्वास्थ्य मन्त्रालयले आक्रमणमा मारिनेहरूमध्ये धेरै बालबालिका र निहत्था सर्वसाधारण भएको जनाएको छ ।

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ।

'नेतान्याहु र उनको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्टाउने निर्णय गरिरहेको छ, गाजामा रहेका इजरायली बन्दिहरुको जीवन अनिश्चित बनाइदिएको छ' हमासले एक विज्ञप्तिमा भनेको छ । हमासले 'विश्वका स्वतन्त्र जनता' सँगै अरब र इस्लामिक राष्ट्रहरूका मानिसहरूलाई आक्रमणको विरोध गर्न सडकमा निस्कन आह्वान गरेको छ ।

प्यालेस्टिनी इस्लामिक जिहाद सशस्त्र समूहले इजरायललाई 'युद्धविराममा पुग्ने सबै प्रयासहरूलाई जानाजानी तोडफोड गरेको' आरोप लगाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलबाट लिएका बन्दीहरूलाई रिहा गर्न वा युद्धविराम विस्तार गर्ने प्रस्तावमा सहमत हुन अस्वीकार गरेकोमा हमास विरुद्ध 'कडा कारबाही' गर्न सेनालाई आदेश दिएको बताएका छन् ।

तर हमास लक्षित कारवाही भनेपनि दुई बर्षको अवधिमा इजरायली सेनाले नरसंहार मच्चाएर हत्या गरिएका करिव ६० हजार प्यालेस्टाइनी गाजावासी मध्ये अधिकाशं सर्वसाधारण छन् । त्यसमा पनि ७० प्रतिशत भन्दा धेरै महिला र बालबालिका मात्र भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।