(Japan) 23 rd September | 2026 | Wednesday | 11:50:00 AM || (Nepal) 8:35:00 AM
 
 


दक्षिण कोरियाली राष्ट्रपति युन रिहा, महाभियोग मुद्वा टुङ्गो लाग्न बाँकी

  POSTED ON : Saturday, 08 March, 2025 | Views : 924

दक्षिण कोरियाली राष्ट्रपति युन रिहा, महाभियोग मुद्वा टुङ्गो लाग्न बाँकी


एजेन्सी ।

दक्षिण कोरियाली अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई रिहा गर्न आदेश दिएको छ । 


निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अदालतमा मुद्वा दायर गरेका थिए र उनको हिरासत गैरकानुनी भएको दाबी गरेका थिए । अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो ।


सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ‘प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसंगत छ ।’ ‘प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताबारे कुनै पनि शंका हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ,’ अदालतले भनेको छ ।


पूर्वअभियोजक युनले डिसेम्बरमा केही समयका लागि सैनिक शासन घोषणा गर्दै संसदमा सैनिक पठाएपछि दक्षिण कोरियाको राजनीतिमा उथलपुथल आएको थियो । 


महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उनीविरुद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए ।


सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबिच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरे पनि अन्ततः जनवरी १५ मा उनलाई हिरासतमा लिइएको थियो । 


उनले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन् । यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ ।