टोकियो, जापान ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण र अल्पकालीन सैनिक शासन लागू गरेर केहि घण्टामै फिर्ता लिएपछि सियोलले विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए । विपक्षीले बुधबार राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका छन्।
चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको हो । कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ।
सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ । दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका छन् ।
विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी) का नेता किम योङ मिनले भने , “हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौं ।” उनीहरूले राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ । उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन् ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाटै सहयोग जुटाउनुपर्ने चुनौति छ ।
यसअघि डीपीले युन, उहाँका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानुनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरूद्ध राज्य विद्रोह (कू) को मुद्दा दायर गर्ने बताएको थियो ।
यसैबीच, पछिल्लो घटनाक्रमलाई लिएर देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ । यनको आफ्नै सत्तारुढ दलका नेताले समेत राष्ट्रपतिको यो कदमलाई ‘दुःखद’ भन्दै घटनामा संलग्नलाई जवाफदेही बनाउन माग गरेका छन्।
युनले उत्तर कोरिया र ‘राज्यविरोधी शक्ति’को खतराको हवाला दिँदै मङ्गलबार राति टेलिभिजनमा सैनिक शासन लागु गरिएको घोषणा गरेका थिए । राष्ट्रपतिको उक्त कदमपछि २४ वटा हेलिकप्टरको सहयोगमा २८० भन्दा बढी सैनिक संसद भवन पुगेका थिए ।
तर, १९० जना सांसदले राइफल बोकेका सैनिकको धज्जी उडाउँदै संसद भवनभित्र पसेर त्यसको विपक्षमा मतदान गरेका थिए । यसले युनलाई आफ्नो निर्णय फिर्ता लिन बाध्य बनायो । उनका लागि स्थानीय समयअनुसार मङ्गलबार बिहान ४ः३० बजे अर्को टेलिभिजन सम्बोधन गरी सेनालाई फिर्ता बोलाउनुबाहेक अर्को विकल्प थिएन ।
कोरियाली संविधान अनुसार संसद्मा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान छ । युनका लागि काम गर्ने वरिष्ठ सहयोगीहरूले बुधबार सैनिक शासन घोषणाको विरोधमा सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए ।
यसैबीच, कतिपय उच्च पदस्थ अधिकारीहरूले आफूले राजीनामा दिने घोषणा गरेका छन्। युनले बिहीबार रक्षामन्त्री किम योङ ह्युनको राजीनामा स्वीकृत गरेका हुन् । किमले माफी मागेका छन् र आफूले जे भयो त्यसको लागि आफू जिम्मेवार भएको महसुस गरेको छ । युनले किमको स्थानमा पूर्व उच्च सैन्य अधिकारी चोई ब्युङ हुकलाई नियुक्त गरेका छन् । चोई हाल साउदी अरेबियाका लागि राजदूतको रुपमा कार्यरत छन् ।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका एक अधिकारीले बुधवार भने कि युनको आपतकालीन मार्शल कानूनको घोषणा राजनीतिलाई सामान्य बनाउने प्रयास थियो र यो सबै कानुनी ढाँचा भित्र थियो ।
मार्शल ल हटाएपछि राष्ट्रपति सार्वजनिक रूपमा देखा परेका छैनन्। तर युनले बुधबार दिउँसो सत्तारुढ दलका वरिष्ठ अधिकारीहरूसँग यस विषयलाई कसरी समाधान गर्ने भनेर छलफल गर्नेछन् । उनको ध्यान अब अर्को कदममा केन्द्रित छ।
घोषणा फिर्ता गर्ने राष्ट्रपतिको निर्णयपछि संसद बाहिर झण्डा फहराइरहेका प्रदर्शनकारीहरू बीच खुशीयाली छाएको थियो । उनीहरूले युनको सैन्य शासन घोषणाको अवज्ञा गर्दै रातभर सतर्कता अपनाउन चिसो तापक्रममा प्रदर्शन गरेका थिए ।
युनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिले निम्त्याएको खतराबाट उदार दक्षिण कोरियालाई जोगाउन र जनताको स्वतन्त्रता र खुशी लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न सैनिक शासनको लागू गरेको तर्क गरेका थिए ।
युनले उत्तर कोरियाको खतराबारे विस्तृत जानकारी नदिए पनि आणविक शक्ति सम्पन्न प्योङयाङसँग प्राविधिक रूपमा दक्षिण कोरिया युद्धमा छ ।
“हाम्रो संसद् (नेशनल एसेम्ब्ली) अपराधीहरूको आश्रयस्थल बनेको छ, विधायिकी तानाशाहीको अखडा बनेको छ जसले न्यायिक र प्रशासनिक प्रणालीलाई पंगु बनाउन र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्छ,” यूनले घोषणामा भनेका थिए ।
दक्षिण कोरियाको निकट सहयोगी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित ट्रम्पले प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीलाई ‘राष्ट्रपतिलाई सत्ता अपदस्थ गर्न उद्दत राष्ट्रविरोधी शक्ति’को संज्ञा दिएका छन् ।
हालैका हप्ताहरूमा युन र उनको पिपुल्स पावर पार्टीले अर्को वर्षको बजेटलाई लिएर विपक्षीहरूसँग कडा मतभेदहरूको सामना गरेका छन् ।
विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत बजेट योजना पारित गरेका थिए जसले युनको खर्च योजनामा कटौती गरेको थियो ।
गत हप्ता ‘ग्यालप’को पछिल्लो सर्वेक्षणमा राष्ट्रपतिको अनुमोदन दर १९ प्रतिशतमा झरेको थियो । मतदाताहरू अर्थव्यवस्थाको अवस्था र उहाँकी पत्नी किम किन हीसँग सम्बन्धित विवादहरूलाई लिएर आक्रोशित भएका देखिन्छन् ।