(Japan) 15 th April | 2026 | Wednesday | 7:33:16 AM || (Nepal) 4:18:16 AM
 
 


अमेरिकाले युक्रेनलाई रुसमा मिसाइल हान्न दिएपछि अमेरिकी दूतावासमा हमलाको चेतावनी

  POSTED ON : Thursday, 21 November, 2024 | Views : 1244

अमेरिकाले युक्रेनलाई रुसमा मिसाइल हान्न दिएपछि अमेरिकी दूतावासमा हमलाको चेतावनी


एजेन्सी ।

अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक मिसाइल युक्रेनलाई दिएर रुसभित्र प्रहार गर्न अनुमति दिएपछि रुसले युक्रेनमा रहेको अमेरिकी दूतावासले आफ्नो दूतावासमा आक्रमण हुनसक्ने चेनावनी जारी गरेको छ ।

युक्रेनले पहिलोपटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी जारी गरेको छ ।

दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ ।

‘अमेरिकी दूतावास अमेरिकी नागरिकहरूलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तत्काल आश्रय लिन तयार रहन सिफारिस गर्दछ,’ दूतवासले भनेको छ। युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलोपटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रयोग गरेपछि रुसले मंगलबार यसको जवाफ दिने चेतावनी दिएको थियो।

एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मंगलबार रुसको ब्रायन्स्क क्षेत्रमा भएको आक्रमण ‘एटिएसिएमएस’ क्षेप्यास्त्रद्वारा गरिएको थियो। यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व तीव्र पार्न चाहेको देखाएको बताएका छन्। ‘हामी यसलाई रुसविरुद्धको पश्चिमी युद्धको गुणात्मक रूपमा नयाँ चरणको रूपमा लिनेछौँ र सोहीअनुरूप प्रतिक्रिया दिनेछौँ,’ ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने।

वासिंटनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । अमेरिकी स्विकृती सँगै युक्रेनले अमेरिका र बेलायतले दिएका मिसाइलहरु रुसी सेनामाथिको आक्रमणमा प्रयोग गर्न थालेको रुसी अधिकारीहरुले पुष्टि गरेका छन् ।