(Japan) 13 th November | 2025 | Thursday | 8:21:04 PM || (Nepal) 5:06:04 PM
 
 


मेक्सिकोमा अबैध रुपमा अमेरिका छिर्न खोज्ने नेपाली सहित ६ जना नेपालीको मृत्‍यु

  POSTED ON : Friday, 04 October, 2024 | Views : 2230

मेक्सिकोमा अबैध रुपमा अमेरिका छिर्न खोज्ने नेपाली सहित ६ जना नेपालीको मृत्‍यु


एजेन्सी ।

अबैध रुपमा अमेरिका छिर्न खोज्ने नेपाली सहित ६ जनाको मेक्सिकोमा निधन भएको छ । 


ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गोली लागेर ६ जना मारिएका छन् ।


ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका मध्ये अधिकांश नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासीको विवरण खुलेको छैन । तर मारिने मध्ये नेपाली पनि रहेको बताइएको छ ।  


उक्त ट्रकमा ३३ जना आप्रवासी थिए। ती मध्ये चार जना घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ। उक्त ट्रकमा इजिप्टियन, नेपाली, क्यूवाली, भारतीय, खाडी र पाकिस्तानी नागरिकसमेत थिए।


उक्त घटनालाई मेक्सिकोको रक्षा मन्त्रालयले पनि पुष्टि गरिसकेको छ। मेक्सिको छिर्ने यो सिमानामा अधिकांश आपराधिक समूहसँग सुरक्षाकर्मीको भीडन्त भइरहन्छ।


मेक्सिको सरकारले पनि आपराधिक समूह ठानेर सिमानामा तैनाथ भएका सैनिकले गोली चलाएको जनाएको छ । तर उनिहरूसँग कुनै हात हतियार नभएको सुरक्षा निकायले जनाएको छ।


तल्लोबाटोबाट अधिकांश आप्रवासीहरू पानामा, कोस्टारिका, निकारागुवा, हुन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिर्ने गर्दछन् ।


यो घटनामा अरु १० जना घाइते भएका छन्। ट्रकमा रहेका बाँकी आप्रवासीहरूलाई मेक्सिकोको अध्यागमन विभागको जिम्मा लगाइएको छ।


मारिनेमध्ये चारजना पुरुष छन्। दुईजना महिलामध्ये एकजना बालिकासमेत रहेको सुरक्षा निकायले जनाएको छ।


सैनिकले आपराधिक समूह ठानेर गाोली चलाएको भनिएपछि आप्रवासी तथा श्रमिक अधिकारमा क्रियाशील विभिन्न सातवटा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले निशस्त्र आप्रवासीहरूमाथि गोली हानिएको भन्दै घटनाको निन्दा गरेका छन्।


उनीहरूले सिमानामा तैनाथ भएका सैनिकहरूले झुक्किएर नभइ आप्रवासीहरूलाई छिर्न नदिने नीतिअनुरुप उनीहरूलाई रोक्नका लागि गोली चलाइएको दाबी गरेका छन्।