एजेन्सी ।
लेबनानी भूमिमाथि अतिक्रमण गर्दै सैन्य आक्रमण थालेका इजराली सेनाका आठ सैनिक मारिएका छन् ।
गाजा नरसंहार जारी राखेको इजरायलले लेबनानमाथि आक्रमण बढाउँदै स्थल सैन्य आक्रमण थालेको पहिलो दिनमै ८ सैनिक गुमाएको हो ।
लेबनान सीमामा भएको लडाईमा एक वर्षको अवधिमा इजरायली सेनाका लागि यो सबैभन्दा धेरै सैनिक क्षति भएको बताइन्छ ।
इजरायली सेनाले लेबनानमाथि आक्रमण गर्न गएका स्थल सेना र सशस्त्र इकाइहरूले सिमा पार गरेको बताएको छ ।
रोयटर्सले पहिलो पटक हिजबुल्लाह लडाकुहरूसँग प्रत्यक्ष भएको बताएको छ । इजरायली सेनाले मृत्यु हुनेको उमेर २१ देखि २३ वर्षको बीचमा रहेको जनाएको छ ।
हिजबुल्लाहको धरापमा परेका र आक्रमणबाट दर्जनौं इजरायली सैनिक घाइते भएका छन् । तीमध्ये धेरैलाई एयर लिफ्ट गरेर उद्दार गरिएको बताइएको छ ।
इरानी सेनाले मंगलबार इजरायलमा १८० बढि क्षेप्यास्त्र प्रहार गरेको एक दिन पछि, इजरायलले धेरै वायुसेना आधारहरूलाई प्रहार गरेको जनाएको छ । यद्यपि इजरायलले महत्त्वपूर्ण पूर्वाधारमा क्षति नपुर्याएको बताएको छ ।
इजरायल डिफेन्स फोर्सका प्रमुख जनरल स्टाफ, लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले इरानी प्रतिरक्षा आक्रमण बिरुद्ध बोल्दै मध्यपूर्वको जुनसुकै स्थानमा आक्रमण गर्नसक्ने धम्की दिएका छन् । उनले भनेका छन् 'हामीसँग मध्य पूर्वको कुनै पनि बिन्दुमा पुग्न र प्रहार गर्ने क्षमता छ। र हाम्रा शत्रुहरू जसले यो बुझेका छैनन् उनीहरूले चाँडै बुझ्नेछन्। '
इरानले हिजबुल्लाह र हमासका नेताहरूको हत्याको बदला लिन आक्रमण गरेको बताएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले कतारका नेतासँग गाजा र लेबनानको अवस्थाबारे छलफल गरेका छन् ।
बुधवार कतारको लुसेलमा उनले भनेका छन् 'हामीसँग जवाफ दिनुको विकल्प थिएन । यदि इजरायलले बदला लिने निर्णय गर्यो भने उसले कडा प्रतिक्रियाको सामना गर्नेछ ।'
यद्यपि उनले इरानीहरू युद्ध वा रक्तपात नचाहने भन्दै शान्ति इरानका एकमात्र शर्त भएको बताएका छन् ।