एजेन्सी ।
गाजामा नरसंहार मच्चाएर ४१ हजार बढिको हत्या गरेको इजरायलले लेबनानमा उस्तैगरि बमबारी थाल्दै नरसंहार सुरु गरेको छ । सोमबार, लेबनानमा ३ सय भन्दा बढी मिसाइलहरू प्रहार गर्दै इजरायली सेनाले एकैदिन २३ बालबालिका सहित कम्तिमा १८२ जनाको हत्या गरेको छ ।
यस आक्रमणमा हालसम्म २७४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्। यो आक्रमणमा परी १० हजारभन्दा बढी घाइते भएको जनाइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले हमलामा २१ जना बालबालिका मारिएको बताएको छ। अलजजीराका अनुसार गाजा युद्ध सुरु भएयता लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो।
आक्रमणपछि लेबनानका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन्। मानिसहरु सुरक्षित स्थानमा जानका लागि तल्लीन देखिएका थिए। धेरै मानिस भागिरहेको अवस्थामा धेरै सहरमा ट्राफिक जाम हुन पुगेको थियो।
आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको बेका उपत्यकामा रहेको हिजबुल्लाहको स्थानमा छिट्टै आक्रमण गर्ने बताएको छ। उसले त्यस क्षेत्रको रेडियो तथा मोबाइल नेटवर्क ह्याक गरेर उपत्यकामा बसोबास गर्ने सर्वसाधारणलाई २ घण्टाभित्र क्षेत्र खाली गर्न सन्देश पठाएको बताइएको छ ।
टाइम्स अफ इजरायलका अनुसार आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गर्दै लेबनानी नागरिकहरूलाई आफ्नो सुरक्षाको लागि तुरुन्तै खतरा क्षेत्रबाट टाढा जान चेतावनी दिएका छन । इजरायली सेनाले हिजबुल्लाह विरुद्ध थप घातक हमला गर्ने धम्की दिएको छ ।
सीएनएनका अनुसार, लेबनानी रेडियो स्टेशन ह्याक गरिएको थियो। त्यसपछि दक्षिण लेबनानका मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको थियो। रेडियो स्टेशन भ्वाइस अफ लेबनानले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेर यो जानकारी दिएको हो।
इरानले इजरायली आक्रमणलाई पागलपन भनेको छ। लेबनानमा हमला गरेपछि इरानले इजरायललाई ‘पागलपन’ को संज्ञा दिएको छ। उसले गम्भीर परिणाम भोग्नु पर्ने धम्की समेत दिएका छ। हमासले पनि लेबनानमा इजरायली आक्रमणको निन्दा गरेको छ। हमासले यो युद्ध अपराध भएको बताएको छ।