एजेन्सी ।
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले भोलिनै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए ।
चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो । श्रीलंकाको राष्ट्रपतीय चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको हो ।
श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।
पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२.३१ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७.२७ प्रतिशत मत मात्र पाए । चुनावमा ३८ जना उम्मेदवार थिए ।
श्रीलंकामा इतिहासकै खराब आर्थिक संकटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका थिए ।