(Japan) 18 th April | 2026 | Saturday | 5:47:59 PM || (Nepal) 2:32:59 PM
 
 


स्वतन्त्र प्रेस माथि इजरायली दमन : इजरायली सेनाद्धारा रमल्लाहमा अल जजिराको कार्यालय बन्द गर्ने आदेश

  POSTED ON : Sunday, 22 September, 2024 | Views : 1336

स्वतन्त्र प्रेस माथि इजरायली दमन : इजरायली सेनाद्धारा रमल्लाहमा अल जजिराको कार्यालय बन्द गर्ने आदेश


एजेन्सी ।

इजरायली सेनाले समाचार नेटवर्कको कभरेजलाई कम गर्न  कब्जा गरिएको वेस्ट बैंकको रमल्लाहमा अल जजीराको कार्यालयमा छापा मारेर बन्द गर्न आदेश दिएको छ ।

भारी सशस्त्र र मास्क लगाएका इजरायली सैनिकहरू बलपूर्वक भवनमा प्रवेश गरेर आइतबार बिहान नेटवर्कको वेस्ट बैंक ब्यूरो प्रमुख वालिद अल ओमारीलाई तत्कालका लागि ४५ दिन कार्यालय बन्द गर्न ठाडो आदेश दिएका हुन् 

इजरायली सेनाले सबै क्यामेराहरू लिएर कार्यालय छोड्न पत्रकारहरुलाई आदेश दिएका थिए ।

आइतवारको छापा इजरायली सरकारले मे महिनामा अल जजीरालाई इजरायल भित्र सञ्चालन गर्न प्रतिबन्ध लगाएको केही महिना पछि आएको हो ।

त्यो प्रारम्भिक बन्द आदेश पनि ४५ दिनको लागि थियो, तर यो समयावधि बढाइएको छ । अल जजीराका पत्रकारहरू अझै पनि इजरायल भित्रबाट रिपोर्ट गर्न असमर्थ छन्।

आक्रमण पछि, ब्यूरो प्रमुख अल-ओमारीले इजरायली सैनिकहरूले कार्यालय तोडफोड गर्ने सम्भावना रहेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘पत्रकारलाई यसरी निशाना बनाएर सधैँ सत्यलाई मेटाउने र जनतालाई सत्य सुन्नबाट रोक्ने उद्देश्य राखिएको छ ।'

गाजाको सरकारी मिडिया अफिसले आइतबारको इजरायली कदमको निन्दा गरेको छ ।

'हामी विश्वका मानवअधिकारसँग सम्बन्धित सबै मिडिया संगठन र समूहहरूलाई यस जघन्य अपराधको निन्दा गर्न आह्वान गर्दछौं । यो प्रेस र मिडिया स्वतन्त्रताको स्पष्ट उल्लङ्घन हो' कार्यालयले भनेको छ ।

मिडिया अधिकार समूहहरूले जारी युद्धको बीचमा गाजामा मैदानमा रहेका पत्रकारहरू, विशेष गरी प्यालेस्टाइनी पत्रकारहरूमाथि प्रतिबन्ध र आक्रमणको लागि इजरायली सरकारको आलोचना गरेका छन्।

गत वर्षको अक्टोबरमा युद्ध सुरु भएदेखि, इजरायली सेनाले गाजा सरकारी मिडिया कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार १७३ पत्रकारको हत्या गरेको छ । यसमा अल जजीराका इस्माइल अल-घौल र समेर अबुदाका समेत समावेश छन्।

फेब्रुअरीमा इजरायली हमलामा अल जजिराका अरबी संवाददाता इस्माइल अबु उमर पनि गम्भीर घाइते भएका थिए ।

२०२२ मा, इजरायली सेनाले अल जजीरा संवाददाता शिरीन अबु अक्लेहलाई कब्जा गरेको वेस्ट बैंकमा जेनिनबाट रिपोर्ट गरिरहँदा ताकेर गोली हानेर हत्या गरेको थियो ।

एक वर्ष अघि, इजरायली सेनाले गाजामा नेटवर्कको कार्यालयहरू रहेको टावरमा पनि बमबारी गरेको थियो।

ूइजरायलको कदमको स्वतन्त्र प्रेसको निरन्तर दमन र इजरायली सेनाको अपरध लुकाउने प्रयासको रूपमा हेरिएको छ ।