टेक्सस, अमेरिका,
मेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक नेपाली युवतीको गोली हानेर हत्या भएको छ । नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै बसेको अपार्टमेन्टमा गोली हानेर हत्या भएको हो ।
पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मृत अवस्थामा थिइन् । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र शरिमा अन्धाधुन्ध धेरैवटा गोली हानेको अवस्थामा मृत भेटिएको उल्लेख गरेको छ ।
भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् ।
पाण्डे सुरुमा नेपालबाट गएकी साथीसँग बसेकी थिइन् । तर पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालिन् । न्युयोर्कबाट सञ्चालनमा रहेको नेपाली डायस्पोराबारे समाचार लेख्ने नेपयोर्क अनलाइनका अनुसार आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने छोरीको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेकी छिन् ।
४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुस्खद खबर सुन्नुपरेको आमा अनिताको भनाइ छ ।
हालसम्म घटनामा कोही पनि दोषी फेला परेका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि पठाइएको छ ।