एजेन्सी ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा एक बर्ष भन्दा कम समयमै ४० हजार भन्दा धेरै गाजावासिको नरसंहार र आक्रमण जारी राखेको इजरायलले लेबनानमा पनि रकेट र बम आक्रमण थालेको छ ।
तर आफ्नो आक्रमण हिजबुल्लाहलाई लक्षित गरी भएको इजरायलले जिकिर गरेको छ । गाजामा हमासमाथिको आक्रमण भनेपनि इजरायली सेनाले १५ हजार भन्दा धेरै बालबालिकाको हत्या गरेको छ ।
आफ्ना कमाण्डरको इजरायली सेनाले हत्या गरेपछि हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गरेको थियो । आफुले गरेको हत्यालाई सुरक्षा बताउने इजरायलले हिजबुल्लाहको प्रत्याक्रमणलाई भने आफुमाथिको आक्रमण बताउने गर्छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले इजरायल तर्फ गोलाबारी गर्न हिजबुल्लाहले गरेको व्यापक तयारीको पहिचान गरेको तर्क गरेका छन ।
इजरायल र हिजबुल्लाहबीच आक्रमण र तनाव थप बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । इजरायलले लेबनानी नागरिकलाई पनि इरान समर्थित शिया मुस्लिम समूह हिजबुल्लाह सक्रिय रहेका क्षेत्र तत्काल छोड्न चेतावनी दिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ । गएको जुलाईमा लेबनानको राजधानी बेरुतमा इजरायलले हवाई आक्रमण गरेर शिया समूहका वरिष्ठ सैन्य कमाण्डरको हत्या गरेपछि लेबनान र इजरायलबिच तनाब चुलिएको हो ।