(Japan) 30 th April | 2026 | Thursday | 7:47:51 AM || (Nepal) 4:32:51 AM
 
 


थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री

  POSTED ON : Friday, 16 August, 2024 | Views : 1212

थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री


एजेन्सी ।

३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रा थाइल्यान्डको संसदबाट  प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।


फेउ थाई पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पाएटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो । 


पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्री भइसकेका छन् । थाइल्यान्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छो प्रधानमन्त्री बनेकी छिन् ।


त्यहाँको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाइपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । पाएटोङ्टार्न थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री बनेकी छिन् । 


सेना, राजावादी दलहरू र टेलिकम टाइकुन तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री श्रेथाको बहिर्गमन भएको थियो । संसद्को तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।


सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यवसाय हेर्दै आएकी थिइन्  र गत वर्षको आमचुनावको दौडान उनी चुनावी अभियानमा लगभग निरन्तर उपस्थित रहेकी थिइन् ।