(Japan) 30 th April | 2026 | Thursday | 7:46:27 AM || (Nepal) 4:31:27 AM
 
 


इजरेलीद्धारा वेस्ट ब्याङ्ककामा लुटपाट र आगजनी, इजरेल द्धारा ४० हजार प्यालेस्टाइनीको हत्या

  POSTED ON : Friday, 16 August, 2024 | Views : 1488

इजरेलीद्धारा वेस्ट ब्याङ्ककामा लुटपाट र आगजनी, इजरेल द्धारा ४० हजार प्यालेस्टाइनीको हत्या


एजेन्सी ।

हुनलाई यो नयाँ घटना होइन, गाजा, वेस्ट ब्याङ्क र समग्र प्यालेस्टाइनमा इजरेली सेनाको नरसंहार र इजरायली नागरिकहरुको लुटपाट, कुटपीट र आगजनी दशकौं देखि जारी छ ।

गाजामा हमास माथिको कारवाहीका नाममा इजरायली सेनाले कम्तिमा ४० हजार प्यालेस्टाइनी नागरिकको नरसंहार गरेको खवर आइरहँदा गाजामा प्यालेस्टाइनी भूमि कब्जा गरेर बस्ती बसाएका ठाउँमा इजरेलीहरुले दर्जनौँ प्यालेस्टाइनी नागरिकहरुको घर र कारहरूमा आगजनी र लुटपाट गरेका छन् । जुन ठाउँ पूर्ण रुपमा इजरेली नियन्त्रणमा रहेको वेस्ट ब्याङ्क क्षेत्र हो ।

घटनामा एक जना प्यालेस्टाइनी नागरिकको समेत इजरायलीहरुले हत्या गरेका छन् । इजरेलले प्यालेस्टाइनी भुमि हडपेर बस्ती बसाएका ठाउँका मानिसहरूले नब्लुस सहर नजिकैको जिट गाउँमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको स्वयं आक्रमणकारी इजरायलीहरुलाई साथ दिंदै आएको इजरेली डिफेन्स फोर्सले जनाएको छ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले २० वर्ष आसपासका एक जना स्थानीयको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जनाएको छ ।

इजरेली सेनाले क्षतिको विवरण अध्ययन भइरहेको बताएको छ ।

सार्वजनिक भिडियोहरुमा यस्ता आक्रमणमा इजरेली सेनाले साथ र संरक्षण दिनेगरेको पाइएपछि सार्वजनिक रुपमा भने इजरेली नेताहरुले यस घटनाको बिरोध गरेका छन् । इजरेली सेनाले सो क्षेत्रबाट एक जना इजरेली नागरिक पक्राउ परेको बताएको छ । तर यसअघि यस्ता आक्रमणमा संलग्नलाई पक्राउ गरेपनि इजरेलले बिना कुनै कारवाही छाड्ने गरेको पाईन्छ ।

सामाजिक सञ्जालमा उक्त क्षेत्रमा घर र सवारी साधनहरूमा आपराधीक जस्ता देखिने इजरेलीहरुको भिडले निहत्था नागरिकको घरमा आगजनी गरिरहेको देख्न सकिन्छ ।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले विगतमा जस्तै आलोचनाहरुबाट बच्न आपराधिक घटनामा संलग्न जो सुकैलाई पक्राउ गरिने र कारबाही गरिने बताएको छ ।

इजरेली सेना आईडीएफले एक विज्ञप्ति जारी गर्दै हिंसा सुरु भएको केही मिनेटभित्रै आफ्नो फौज उक्त गाउँमा परिचालन भएको दाबी गरेको छ । तर आक्रमणकारी इजरेलीहरु इजरेली सेनाकै सुरक्षा घेरमा थिए भने उनिहरुले एक घण्टा भन्दा बढि समय सो क्षेत्रमा आक्रमण गरेको सार्वजनिक भएका भिडियोहरुले पुष्टि गर्छ ।

इजरेलले कब्जा गरेको प्यालेस्टाइनी भूमिमा ल्याएर राखेका इजरायलीहरुलाई प्यालेस्टाइनी बस्तीमा आक्रमण, लुटपाट र हिंसा गर्दा इजरेली सेनाले संरक्षण र छुट दिंदै आएको प्यालेस्टिनीहरू बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकाय ओचाका अनुसार गत अक्टोबरयता प्यालेस्टिनीहरूमाथि १००० भन्दा बढी आक्रमणका घटना भएका छन् । जसमा ६६० जना बालबालिका सहित १३९० जना विस्थापित भएको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

यस्ता आक्रमणहरूमा बारम्बार घातक हिंसाका घटनाहरू पनि हुने गरेका छन् । ओचाले १०७ वटा यस्ता आक्रमणमा प्यालेस्टिनीहरू घाइते भएको र ८५९ घटनामा प्यालेस्टिनी सम्पत्तिमा क्षति पुगेको छ ।