एजेन्सी ।
अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा बम र रकेट प्रहार गरेर विस्थापित एक सयभन्दा बढी प्यालेस्टिनी सर्वसाधारण मारेकोमा इजरायलको निन्दा गरेका छन् ।
अबोल–घितले बिहानको प्रार्थनाको समयमा विस्थापित नागरिकहरूलाई मार्नु अपराध भएको बताएका छन् ।
अरब लिग प्रमुखले गाजामा कैदी आदानप्रदान सम्झौता र तत्काल युद्धविरामका लागि गम्भीर रूपमा वार्ता गर्न इजरायललाई वास्तविक दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेका छन् ।
हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायली सेनाले गरेको बमबारीमा १०० भन्दा बढि प्यालेस्टाइनी सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएको छ ।
इजरायली सेनाले भने उक्त आक्रमणको बचाउ गर्दै हमास लक्षित भएको बताएको छ । इजरायललाई हतियार उपलब्ध गराउँदै आएको अमेरिकाले इजरायली बर्मरताको संरक्षण गर्दै आइरहेको छ ।