(Japan) 30 th April | 2026 | Thursday | 7:45:52 AM || (Nepal) 4:30:52 AM
 
 


गाजामा रोकिएन इजरायली नरसंहार, स्कुलमा शरण लिएका माथि बम प्रहार एक सय जनाको मृत्यु

  POSTED ON : Sunday, 11 August, 2024 | Views : 1012

गाजामा रोकिएन इजरायली नरसंहार, स्कुलमा शरण लिएका माथि बम प्रहार एक सय जनाको मृत्यु


एजेन्सी ।

प्यालेस्टाइनी भूमि गाजा क्षेत्रमा जारी इजरायली सेना आईडिएफको हमला थप नरसंहार उन्मुख देखिन थालेको छ ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको बम हमलामा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।

अल–ताबाइन स्कुलमा बिहानको प्रार्थना गरिरहेका इजरायली सेनाको आक्रमणबाट बच्न शरण लिएर बसिरहेका विस्थापित मानिसहरूलाई लक्षित गरेर इजरायली सेनाले आक्रमण गरेको हो । विस्थापितहरुले खचाखच भरिएको विद्यालयमा आक्रमण हुँदा विद्यालय परिसर लासले भरिएको थियो ।

इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हमासले उक्त आम हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ ।

यस नरसंहारको राष्ट्रसंघिय अधिकारीहरु सहित क्यानडाका अन्तर्राष्ट्रिय विकास मन्त्री अहमद हुसेनले निन्दा गर्दै इजरायललाई गाजा क्षेत्रमा नरसंहार रोक्न दबाव दिएका छन् ।

इजरायली सेनाले यस्ता नरसंहारका घटनामा हमास लडाकुहरु लुकेको आधारमा आक्रमण गरेको दाबी गर्ने गरेको छ भने अमेरिका, बेलायत लगायत देशहरुले यस्ता घटना ढाकछोप गर्दै इजरायलको बचाउ गर्दै आइरहेका छन् ।