एजेन्सी ।
इरानी राष्ट्रपतिको शपथ ग्रहणमा सहभागी हुने क्रममा तेहरानमा भाडाका गुप्तचर मार्फत हमासका नेता इस्माइल हानियाको हत्या गरेपछि उक्त संगठनले आफ्नो नयाँ नेता चयन गरेको छ ।
कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेता चयन गरेको हो ।
सन् २०१७ देखि सिनवारले गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन् । अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ । प्यालेस्टाइनलाई स्वतन्त्र मुलुक बनाउन हमास समुहले गाजा क्षेत्रमा इजरायली विस्तारवाद बिरुद्ध शसस्त्र युद्ध गर्दै आएको छ ।
हमासका एक अधिकारीका अनुसार हमासको नेतृत्वको सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो ।
इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने चेतावनी दिएका छन् । उनीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहर गरेका छन् ।
इस्माइल हानियाको मृत्युबारे इजरायलले कुनै प्रतिक्रिया नदिएपनि हानिया हत्यापछि आफुमाथि आक्रमण भए प्रतिउत्तर दिन तयार रहेको धम्की दिंदै आएको छ ।
गाजा क्षेत्रमा इजरायली सेनाले दैनिक दर्जनौं सर्वसाधारणको हत्या गर्दै आएको छ । जसलाई उसले आफ्नो प्रतिरक्षाको संज्ञा दिंदै आएको छ भने अमेरिका लगायत केहि पश्चिमा देशले इजरायलको बचाउ गर्दै आइरहेका छन् ।
गाजा क्षेत्रमा ४० हजार सर्वसाधारणको बम, गोला बारुद्ध प्रहार गरेर इजरायली सेनाले हत्या गरेपनि अमेरिकाले उसको बचाउ गर्दै हतियार सहयोग गर्दै आएको छ भने उल्टै इजरायली नरसंहारको बिरोध गरेका देशहरु बिरुद्ध धम्की दिंदै इजरायलको रक्षाका लागि सबै सहयोग गर्ने बताउँदै आएको छ ।