(Japan) 1 st May | 2026 | Friday | 10:02:33 AM || (Nepal) 6:47:33 AM
 
 


बंगलादेशमा विद्यार्थी नेताहरुको माग अनुसार संसद भंग, मुहम्मद युनिस अन्तरिम सरकार प्रमुख

  POSTED ON : Wednesday, 07 August, 2024 | Views : 1186

बंगलादेशमा विद्यार्थी नेताहरुको माग अनुसार संसद भंग, मुहम्मद युनिस अन्तरिम सरकार प्रमुख


एजेन्सी ।
आन्दोलनरत विद्यार्थी नेताहरुले राखेको माग अनुसार बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको बीबीसीले जनाएको छ ।

आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेको  बताइएको छ । 

विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन् । 

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भङ्ग भएको घोषणा गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।

आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।

२६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका थिए।

संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उनले प्रदर्शनरत विद्यार्थीहरूलाई बताएका थिए। उक्त माग राखेसँगै राष्ट्रपति शाहबुद्दिनले संसद भंग गरेका हुन्। 

विद्यार्थी नेताहरूले आफूहरूको माग पूरा भएको भन्दै फेसबुकमा लेखेका छन् ।