एजेन्सी ।
भारतको केरला राज्यको वायनाडमा भीषण पहिरोले चार वटा गाउँ बगाएको छ । पहिरोमा परेर कम्तीमा १०६ जना जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा कम्तिमा एक जना नेपाली रहेका छन । पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्याइएको भारतीय मिडियाले लेखेका छन ।
केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । अहिलेसम्म बेपत्ताको संख्या ८४ जना रहेको खुलेको छ ।
तर ठूलो वर्षा भइरहेको र एउटा महत्त्वपूर्ण पुल भत्किँदा उद्धारको काम प्रभावित भएको बताइन्छ ।
यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।
यसैबीच केरला सरकारले वायनाड घटनालाई लिएर दुई दिने शोकको घोषणा गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आज र भोलि दुई दिनका लागि राज्यव्यापी शोकको घोषणा गरेका छन ।
यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गरेका छन ।