टोकियो, जापान ।
अमेरिकाको फ्लोरिडामा रहेको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले यो मुद्दा ल्याउने अधिकार कसैलाई नभएको भन्दै ट्रम्पको पक्षमा फैसला सुनाएका हुन । ट्रम्पले नियुक्त गरेका न्यायाधीश क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएको बिबिसिले जनाएको छ ।
ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढङ्गले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । फैसलापछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज हुनुपर्ने बताएका छन् ।
उनले आफूविरुद्धका सबै मुद्दा चुनावी षड्यन्त्र मात्र भएको दाबीसमेत गरेका छन् । ट्रम्पविरुद्ध न्यायमा बाधा पुर्याउने षड्यन्त्र, अवैध रूपमा कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने लगायत अभियोगमा मुद्दा चलिरहेको छ ।