(Japan) 1 st May | 2026 | Friday | 3:11:58 AM || (Nepal) 11:56:58 PM
 
 


जापानी पूर्वप्रधानमन्त्री आबेको हत्या भएको २ बर्ष पुरा

  POSTED ON : Monday, 08 July, 2024 | Views : 1180

जापानी पूर्वप्रधानमन्त्री आबेको हत्या भएको २ बर्ष पुरा


एजेन्सी । 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको २ बर्ष पुरा भएको छ । आबेको सन् २०२२ मा आजकै दिन (जुलाई ८) मा चुनाबी सभामा सम्बोधनका क्रममा हत्या भएको थियो ।


जापानको नारा सहरमा आयोजित एक चुनाबी कार्यक्रममा भाषण गरिरहेका आबेमाथि ४२ वर्षीय तेत्सुया यामागामीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।


गोली प्रहार भएलगत्तै पूर्वप्रधानमन्त्री आबे भुइँमा ढलेका थिए । उनको छातीमा आधा दर्जन गोली लागेको थियो । घटनास्थलमा प्राथमिक उपचारपछि आबेलाई एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो । त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा सोही दिन अस्पतालमा मृत्यु भएको थियो ।


१९५४ सेप्टेम्बर २१ मा जन्मिएका आबे १९९३ मा पहिलो पटक सांसद बनेका थिए । २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।


आबे २००६ देखि २००७ र २०१२ देखि २०२० सम्म गरी नौ वर्ष जापानको प्रधानमन्त्री थिए । उनी दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री हुन् । 

आबे आफ्नो शासनकालमा अवलम्बन गरेको ‘आबेनोमिक्स’ अर्थनीतिका कारण चर्चित र लोकप्रिय छन् ।


आबेको हत्या अभियुक्तले आबेले बिबादास्पद दक्षिण कोरियाली युनिफिकेसन चर्चसँग आबद्व रहेका कारण हत्या गरेको बताएको समाचारहरुमा उल्लेख छ ।

तेत्सुयामाथि हत्या अभियोगको मुद्दा अदालतमा चलिरहेको छ । 


उक्त चर्चले अबैध रुपमा चन्दा दिन वाध्य पारेर आफ्नो परिवारको आर्थिक अवस्था धराशायी बनाएको तेत्सुयाको आरोप छ ।