न्यूयोर्क ।
अमेरिकामा एकजना नेपाली भाषीको कुटेर विभत्स हत्या भएको छ । बेलायती पत्रिका डेली मेलका अनुसार अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा आयोजित कन्सर्ट हेर्न पुगेका ४१ वर्षीय उमेश दाहालको हत्या भएको हो ।
अमेरिकी समय अनुसार गत शनिबार राति दाहाललाई दुई जनाले कुटेका थिए । त्यसपछि अस्पताल लगिएका उनलाई मंगलबार मृत घोषणा गरिएको हो । हत्यामा संलग्न आरोपमा अमेरिकी प्रहरीले नेपाली भाषी नै २६ वर्षका विशाल राईलाई पक्राउ गरेको छ ।
राई सहित अर्का एक नेपाली भाषिले दाहालको निर्घात कुटपिट गरेर हत्या गरेको बताइएको छ ।
झगडा मिलाउन खोज्दा दाहाललाई कंक्रिटको भुइँमा पछारेर टाउकोमा लात्ताले हानिएको डेली मेलले उल्लेख गरेको छ।
झापाकी दमन्ता काफ्लेसँग विवाह गरेका दाहालका दुई छोरी छन्। दाहाल भुटानी मूलका नेपाली भाषी भएको बताइएको छ।