(Japan) 1 st May | 2026 | Friday | 3:11:33 AM || (Nepal) 11:56:33 PM
 
 


दिल्लीको इन्दिरा गान्धी बिमानस्थलमा छाना खस्दा एकको मृत्यु, आधा दर्जन घाइते

  POSTED ON : Saturday, 29 June, 2024 | Views : 1060

दिल्लीको इन्दिरा गान्धी बिमानस्थलमा छाना खस्दा एकको मृत्यु, आधा दर्जन घाइते


एजेन्सी ।

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिमानस्थल क्षेत्रको छाना खस्दा कम्तिमा एक जनाको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार टर्मिनल १ मा पार्किङको छाना भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भिर घाइते भएका छन्।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार बिहान साढे ५ बजे बिजुली चम्किएर भारी बर्षा भइरहँदा हेर्दाहेर्दै छत खसेको थियो । छत मुनि रहेका आधा दर्जन बढि सवारीसाधन छतले थिचिएका थिए ।

भारी वर्षाका बीच बिहानको समय विमानस्थलको टर्मिनल १ मा गाडीको लामो लाइन लागेको थियो, त्यही बेला पार्किङस्थलको छत एक्कासि भत्किएर सवारीसाधनमा बज्रिएको थियो । त्यहाँ उपस्थित मानिसहरूबीच भागाभाग मच्चिंदा बिमानस्थल कोलाहलपूर्ण बनेको थियो ।

अधिकारीहरूका अनुसार दुर्घटनापछि २० वटा उडान रद्द भएको थियो । यसैगरि १२० वटा उडानहरु ढिलाई हुन पुगेको छ ।

दुर्घटनापछि केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु आफै टर्मिनल–१ पुगे र अधिकारीहरूले घटनाको जानकारी लिएका थिए । दुर्घटनामा परी ज्यान गुमाएका र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्दै मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँ दिने अधिकारीहरुले बताएका छन् ।