(Japan) 1 st May | 2026 | Friday | 3:10:59 AM || (Nepal) 11:55:59 PM
 
 


विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त

  POSTED ON : Wednesday, 26 June, 2024 | Views : 820

विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त


एजेन्सी ।

विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त भएका छन् । अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौता अनुरूप यूकेको जेलबाट असान्ज छुटेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

असान्जलाई अमेरिकाले राष्ट्रिय सुरक्षा सम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाउँदै आएपनि उक्त अभियोग हटाएपछि बेलायतले असान्जलाई छाडेको हो ।

अमेरिकाले वर्षौदेखि विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचनाहरू उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रहरूले मानिसहरूको ज्यान खतरामा पारेको तर्क अमेरिकाको छ ।

असान्जलाई बेलायतले अमेरिकी दबावमा पाँच बर्षदेखि जेलमा थुनेर राखेको थियो । असान्जले बेलायती जेलमा रहेर अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लड्दै आएका थिए ।

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नु पर्ने छैन । अमेरिकाले यूकेमा उनले बिताएको थुनाको अवधिलाई गणना गरेर त्यस्तो छुट दिने बताइएको छ।

विकिलीक्सले सामाजिक सञ्जाल एक्समा असान्जले सोमवार एक हजार ९ सय एक दिनपछि बेलमार्श जेलको सानो बन्दी कोठा छाडेको लेखेको छ ।

उक्त विज्ञप्तिमा त्यसपछि उनलाई 'दिउँसो स्टान्स्टेड विमानस्थलमा रिहा गरियो र त्यहाँबाट उनी विमानमा चढेर यूकेबाट अस्ट्रेलिया फर्किए ।'

विकिलीक्सले साझा गरेको भिडिओमा जीन्स र नीलो शर्ट लगाएका असान्जलाई विमानमा उनी प्रस्थान गर्नुअघि गाडीमा लादैँ गरेको देखाइएको छ ।

जुलियन्सकी श्रीमती स्टेला असान्जले एक्समा लेख्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएकी छिन्।

उनले ती समर्थकहरूले 'यसलाई साकार पार्न वर्षौँदेखि काम गरेको' उल्लेख गरेकी छन्।

अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित गोप्य अमेरिकी सैन्य दस्तावेजहरू र कूटनीतिक पत्रहरू सार्वजनिक गरेकोमा अमेरिकी अभियोजनकर्ताहरूले सुरुमा असान्जलाई जासुसीसम्बन्धी कानुनअन्तर्गत १८ वटा मुद्दा लगाउने तयारी गरेका थिए ।

असान्जले सन् २००६ मा विकिलीक्स स्थापना गरेका थिए।

अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटमा उल्लेख छ ।

अमेरिकी सरकारले त्यसलाई उसको इतिहासमा गरिएको गोप्य सूचनाको सबैभन्दा ठूलो चुहावटूको रूपमा लिने गरेको छ। सन् २०१० मा विकिलीक्सले इराकमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको एउटा भिडिओ सार्वजनिक गरेको थियो जसमा बग्दादमा १८ सर्वसाधारण नागिरकलाई अमेरिकी सेनाले सैनिक हेलिकोप्टरबाट निसाना बनाएर गोली हानेर मारेका थिए ।

यो वेबसाइटले अमेरिकी सेनाका पूर्वगुप्तचर विश्लेषक चेल्सी म्यानिङले उपलब्ध गराएकी हजारौँ गोप्य दस्तावेज पनि प्रकाशित गरेको थियो ।

असान्जलाई फसाउन स्वीडेनमा बलात्कार र यौन दुर्व्यवहारका छुट्टाछुट्टै अभियोगहरु नियोजित रुपमा लगाइएको थियो ।

उनले एक्वडोरको लन्डन दूतावासमा शरण लिएर लुकेर सात वर्ष बिताएका थिए । त्यस बेला उनले स्विडेनी मुद्दाले उनलाई अमेरिका पुर्‍याउन सक्ने दाबी गरेका थिए ।

स्विडेनी अधिकारीहरूले सन् २०१९ मा ती मुद्दाहरू फिर्ता लिए । त्यसको कारणका रूपमा उनीहरूले मुख्य उजुरी दर्ता भएको समय धेरै भएको बताएका थिए।

तर ब्रिटिश अधिकारीहरूले उनलाई हिरासतमा लिएका थिए । स्वीडेनमा सुपुर्दगी गर्नका लागि अदालतसमक्ष आत्मसमर्पण नगरेको भन्दै अमेरिकी योजनामा उनीमाथि मुद्दा चलाइएको थियो ।