एजेन्सी ।
दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २२ जना बिदेशी कामदारको मृत्यु भएको छ।
मृतकमध्ये १८ जना चिनियाँ नागरिक भएको स्थानीय अग्निनियन्त्रण निकायले जनाएको छ।
अरू आठ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएको बताइएको छ।
उक्त कम्पनिमा नेपाली कामदारहरु पनि कार्यरत रहेको पुस्टि भएपनि हताहतिको कुनै खबर आएको छैन ।
ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा सोमवार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथिअम ब्याटरी उत्पादन हुँदै आएको छ।
घटनास्थल राजधानी सोलबाट ४५ किलोमिटिर दक्षिणमा पर्छ।
सोलस्थित नेपाली दूतावासले उक्त घटनामा नेपाली परेको जानकारी अहिलेसम्म प्राप्त नभएको जनाएको छ।
"हामीले त्यसबारे बुझ्न दूतावासबाट कर्मचारी पठाएका छौँ," नेपाली नियोगका उपप्रमुख पुष्पराज भट्टराईले भने । अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गर्दा ससाना विस्फोटन भएको देखिएको थियो ।
दक्षिण कोरियालाई लिथिअम ब्याटरीको उत्पादनमा अग्रणी मानिन्छ। त्यस्तो ब्याटरीको प्रयोग विद्युतीय सवारीसाधनदेखि ल्याप्टपसम्ममा हुन्छ।
आगो लाग्दा कारखानामा झन्डै १०० कामदार थिए।
अधिकारीहरूले खोज तथा उद्धारकार्य जारी रहेको बताएका छन्।
एरिसेल कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५,००० वटा ब्याटरीहरू थिए।
उक्त तल्लामा ब्याटरीको जाँच र प्याकेजिङ गरिन्थ्यो। उक्त कारखानाको भण्डार अन्यत्र पनि छ।
आगलागीको कारण अझै थाहा भइसकेको छैन। अधिकारीहरूले आगलागीको कारणबारे छानबिन सुरु भएको जनाएका छन्।
अधिकारीहरूका अनुसार प्रत्यक्षदर्शीहरूले आगलागी भएकै समयमा कारखानाको दोस्रो तल्लामा शृङ्खलाबद्ध विस्फोटन भएको सुनेका थिए।