एजेन्सी ।
कुवेतको माङ्गाफस्थित बिदेशी श्रमिक बस्ने एक आवासिय भवनमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार मध्ये भारत र मलेसियाका कामदारको परिचय खुलेपनि सबैको सनाखत हुन बाँकी रहेको छ ।
उक्त क्याम्पमा नेपालीहरू समेत बस्ने गरेको जनाइएको छ । यो समाचार तयार पार्दासम्म कम्तिमा एक जना नेपाली कामदार घाईते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पमा आगलागी हुँदा ४३ श्रमिकहरूको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ ।
आगलागीमा परेकाहरूको अवस्थाबारे यकिन विवरण आई नसकेको र नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
अहिले घटनास्थलमा नेपाली दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । बिहान साढे ४ बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो ।
कम्पनीको उक्त भवनमा करिब एक सय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरू रहेका छन् । १५ घाइतेको जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आन्तरिक मन्त्री शेख फहाद अल युसुफ अल सबाहले आगलागी भएको भवनका मालिक, सुरक्षा गार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।