एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र युरोपेली देशहरुले युक्रेनलाई दिएको मिसाइलहरु रुसी भूमिभित्र आक्रमणमा प्रयोग भएमा ति देशको सिमा नजिक आणविक मिसाइल तैनाथको चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका हतियारबाट रुसी भूमिमा आक्रमण भएमा अवस्था भयावह हुन सक्ने चेतावनी दिएका हुन् । उनले युक्रेनलाई प्रयोग गरेर अमेरिका र युरोपेली देशहरूले रुसमा आक्रमण गर्ने योजना बनाएको भन्दै ती देशको नजिकै अन्तर महादेशीय आणविक मिसाइल तैनाथ गर्ने चेतावनी दिएका हुन् ।
रुसले कहिल्यै आणविक हतियारको प्रयोग गर्दैन भन्ने भ्रममा नबस्न पनि पुटिनले पश्चिमा देशहरूलाई चेतावनी दिएका छन् ।
केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरूले दिएको केही हतियार प्रयोग गरेर युक्रेनले रुसमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
यस्तै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई रुसी भू–भागमा आक्रमण गर्न पश्चिमी हतियार प्रयोगको अनुमति दिन सकिने बताएका थिए । तर यस्तो भएमा रुस चुप लागेर नबस्ने र पश्चिमा देशहरूले ठूलो मूल्य चुकाउनुपर्ने पुटिनको स्पष्ट चेतावनी छ ।
कसैले रुसको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता खतरामा पार्ने कोशिश गर्छ भने रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावना जहिले पनि जीवितै रहेको पुटिनले चेतावनी दिएका छन् ।