(Japan) 24 th October | 2026 | Saturday | 12:49:40 PM || (Nepal) 9:34:40 AM
 
 


भारत बिरोधी पार्टी मादिभ्समा दुई तिहाईले बिजयी

  POSTED ON : Monday, 22 April, 2024 | Views : 1652

भारत बिरोधी पार्टी मादिभ्समा दुई तिहाईले बिजयी


एजेन्सी ।

भारत बिरोधी पार्टि तथा नेताका रुपमा चिनिएका राष्ट्रपति मोहम्मद मुइजुको पार्टी पीएनसीले माल्दिभ्समा दुई तिहाई जनमत पाएको छ ।

दक्षिण एसियाली मुलुक माल्दिभ्समा राष्ट्रपति मुइजुको पार्टीले संसदीय निर्वाचनमा फेरि अत्यधिक बहुमत हासिल गरेको हो । उनको दललाई चीन समर्थित रुपमा चित्रित गर्ने गरिएको छ ।

प्रान्तीयस्तरको परिणाम अनुसार उनको पार्टी पिपुल्स नेसनल कंग्रेस (पीएनसी) ले कुल ९३ सिटको हाउसमा ६६ स्थान जितेको छ । यो विजयले मुइजुले लिएको चीनसँग निकटको सम्बन्धलाई जनताले अनुमोदन गरेको पाइएको छ ।

उनी लामो समयदेखि आफ्नो देशमा भइरहेको भारतको प्रभावलाई निस्तेज गर्न चीनसँग नजिक रहँदै आएका छन् । दुईतिहाइ मत प्राप्त भएकाले उनको पार्टीले आफूले चाहेअनुसार संविधान समेत संशोधन गर्न सक्ने भएको छ ।

मुख्य विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले जम्मा १५ सिट मात्र जितेको छ । आइतबारको मतदानअघि संसद्मा सो पार्टीका बहुमत थियो ।

मुइजु शक्तिमा आएपछि उनले भारतीय सेनाका टुकडीलाई समेत माल्दिभ्सबाट फिर्ता पठाउने प्रतिबद्धता गरेका थिए । भारतीय सैनिकका दुई ब्याच यसअघि नै फिर्ता गरिएका छन् । उनीहरूका ठाउँमा सिभिलियन प्राविधिक स्टाफ ल्याइएको छ ।

भारतीय सेना खासमा दुई हेलिकोप्टर ‘अपरेट’ गर्ने क्रममा केही वर्षअघि सेना माल्दिभ्स छिरेको थियो । गएको जनवरीमा बेइजिङ गएर उनले चीनसँग केही सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । मार्चमा चीनसँग माल्दिभ्सको सैनिक सहायता सम्बन्धी सम्झौता पनि भएको थियो ।

आइतबारको चुनावमा करिब ७३ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचनको मत परिणामसँगै माल्दिभ्स र भारत बिचको सम्वन्ध थप चिसिने र चिनसँगको सम्वन्ध थप झाँगिने देखिएको छ ।