एजेन्सी ।
अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूले इरानले आफ्नो कुटनीतिक नियोगमा इजरायलले आक्रमण गरेपछि बदलामा गरेको ठूलो ड्रोन र मिसाइल आक्रमण बिरूद्ध प्रतिआक्रमण गर्ने भित्रि योजना बुनिरहेको उल्लेख गरेका छन् ।
इजरायलले प्यालेस्टाइनको दक्षिणी सहर रफाहमा जमिन मार्फत आक्रमण गर्न सक्ने भय बढि रहँदा गाजा पट्टीमा पनि तनाव बढ्दै गएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतवार इरानको हवाई आक्रमणको प्रतिक्रियाबारे छलफल गर्न युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
छलफलको विषयवस्तु भने खुलाइएको छैन । रोयटर्स समाचार एजेन्सीले युद्ध मन्त्रिपरिषद्ले इरानको बिरूद्ध प्रतिआक्रमणको विकल्पलाई समर्थन गरेको, तर समय र मापनमा विचारहरूमा बिभाजन देखिएको बताएको छ ।
इजरायलले अमेरिका र अन्य देशहरूको सहयोगमा शनिबारदेखि आइतवारसम्मको आक्रमणमा अधिकांश ड्रोन र मिसाइलहरू खसालेको बताएको छ । इरानले भने योजना अनुसार आक्रमण गर्न सफल भएको बताएको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार इस्लामिक समूह हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेको प्रचार गरेको छ । तर हमासले त्यसलाई झुठो प्रचारबाजीको संज्ञा दिएको छ ।
इजरायली सेनाले सोही दिन गाजा फ्रन्टमा सञ्चालनका लागि रिजर्भ ब्रिगेडहरू बोलाएको बताएको थियो । इजरायलले यस महिनाको सुरुमा गाजाको दक्षिणी सहर खान युनिसबाट सेना फिर्ता गरेपछि यो कदम आएको हो ।
इजरायली मिडियाले हमाससँगको वार्तामा कुनै प्रगति नभएको भन्दै इजरायली रक्षा बलले रफाहमा जमिन आक्रमण गर्न सक्ने बताएको छ । करिब १५ लाख मानिस सहरमा आश्रय लिइरहेका छन् ।
अलजजिरा समाचार संस्थाले पछिल्लो पटक इजरायली सेनाले एक बालिकालाई ताकेर अनुहारमा गोली प्रहार गरि हत्या गरेको उल्लेख गरेको छ ।
इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको सैन्य आक्रमणका क्रममा ४ महिनामा करिव ३४ हजार व्यक्तिको ज्यान लिएको छ । मारिन मध्येमा झण्डै आधा बालबालिका रहेका छन् भने दुई तिहाई बालबालिका र महिलाहरु रहेका छन् ।