एजेन्सी ।
संयुक्त राष्ट्रसंघिय अन्तर्राष्ट्रिय नियम उल्लंघन गर्दै इजरायलले इरानको दूतावासमा आक्रमण गर्दै वरिष्ठ कुटनीतिक र सैन्य अधिकारीहरुको ज्यान लिंदा मौन बसेका अमेरिकी राष्ट्रपति जो बाइडेन इरानले बदला लिन इजरायलमाथि आक्रमण गर्ने तयारी गरेपछि धम्कीमा उत्रिएका छन् ।
राष्ट्रपति बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्ने सम्भावना बढेको भन्दै इरानलाई त्यसो नगर्न चेतावनी दिंदै आफु इजरायलको साथमा रहेको बताएका छन् ।
गाजामा इजरायली नरसंहारमा समेत साथ दिंदै आएका अमेरिकी राष्ट्रपति बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरेका हुन् । इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’
बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका छन् । ‘हामी इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छौँ । हामी इजरायललाई समर्थन गर्नेछौँ, हामी इजरायलको रक्षा गर्नेछौँ, र इरान सफल हुन सक्दैन,’ उनले भने।
एप्रिल महिनाको सुरुमै भएको एक हवाई हमलामा इरानका शीर्ष कमान्डरहरू मारिएपछि तेहरानले बदला लिने त्रास बढिरहँदा बाइडनले त्यसो भनेका हुन्।
एप्रिल १ मा दमास्कसस्थित इरानी कूटनीतिक नियोगमा भएको घातक हमलायता सर्वोच्च नेता आयातोल्लाह खामेनेईसहित अतिवादी पक्षले कडा जबाफ दिनुपर्ने बताएका छन् ।
तनाव बढिरहँदा अमेरिका, यूके, भारत र अस्ट्रेलिया सहितका देशले इजरेल यात्रा नगर्न चेतावनी दिएका छन्।
अमेरिकी विदेश मन्त्रालयले इजरेलमा रहेका आफ्ना कूटनीतिक कर्मचारीहरूलाई तेल अभिभ, जेरुसेलम र बिअसिबा सहरबाहिर यात्रा गर्न रोकेको छ ।
इजरेली रेडियोमा स्थानीय अधिकारीहरूलाई सम्भावित हमलाका लागि तयार रहन भनिएको जनाइएको छ।
एप्रिल १ मा इजरेली युद्ध विमानहरूले दमास्कसस्थित इरानी नियोगमा बम खसालेको थियो ।
त्यसबारे इजरेली सेनाले प्रतिक्रिया दिन अस्वीकार गरेपनि अमेरिकाले समेत इजरायलको संलग्नतालाई अस्वीकार गरेको छैन ।
आक्रमणमा एक जना इरानी सैन्य कमान्डर सहित ७ जना इरानी सैन्य सल्लाहकारहरू मारिएको इरानको रिभोल्युशनरी गार्डस्ले जनाएको थियो।
मारिनेमा विदेशी गुप्तचर समेत हेर्ने विशेष अर्ध सैनिक बल कुड्स फोर्सका एक जना वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदी पनि छन्।
उक्त घटनामा कुल १३ जना मारिएका थिए ।