मस्को, एजेन्सी ।
जापानमा अमेरिकाको सैन्य उपस्थितिले मस्को र टोकियो बिचको शान्ति सन्धिमा बाधा पुगेको क्रेमलिनले बताएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले यस हप्ता वाशिंगटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्न लागेका छन्, जुन नौ वर्षमा जापानी नेताको पहिलो राजकिय भ्रमण हो ।
भेटघाटको उद्देश्य उनीहरूको घनिष्ठ सुरक्षा र आर्थिक सम्बन्धहरू प्रदर्शन गर्नका लागि भएको ठानिएको छ । दुई नेताहरूले रक्षा उपकरणमा सहयोग र जापानमा अमेरिकी सैन्य कमाण्ड संरचनामा सम्भावित स्तरोन्नतिको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले डिफ्याक्टो डिफेन्स गठबन्धन पहिले नै जापानमा रहेको र जापानमा तैनाथ गरिएको अमेरिकी सैन्य क्षमता बारे जानकार रहेको भन्दै आफ्नो देशको सिमाना नजिकै अमेरिकी सैन्य अखडा राख्ने प्रयासहरु भइरहेको पत्रकारसँगको कुराकानीमा बताएका छन् ।
'हाम्रो मुख्य समस्या, शान्ति सन्धि समस्याको समाधानमा पुग्ने प्रयासमा यो सधैं बाधा पुगेको छ' उनले भनेका छन् ।
रुस र जापानले दोस्रो विश्वयुद्धको दौडान औपचारिक रूपमा आफ्नो शत्रुता समाप्त गर्ने शान्ति सन्धिमा कहिल्यै हस्ताक्षर गरेका छैनन् ।
रुसमा कुरिल र जापानमा उत्तरी क्षेत्र भनेर चिनिने विवादित प्यासिफिक टापु श्रृंखलामा भएको क्षेत्रीय विवाद एउटा प्रमुख मुद्दा रहँदै आएको छ ।
पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवले जनवरीमा जापानले शान्ति सन्धि गर्न चाहेमा टापुहरूमाथिको क्षेत्रीय दाबी छोड्नुपर्ने बताएको छ ।
युक्रेनमा रूसको युद्धमा जापानी प्रतिबन्धका कारण मस्को जापानसँगको शान्ति सन्धि वार्ताबाट पछि हटेको छ । रुस र जापानबिचको सम्वन्ध हालैका बर्षहरुमा चिसिंदै गएको छ ।