एजेन्सी ।
प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी नरसंहार रोक्न माग गर्दै इजरायली नागरिकहरु समेत सडकमा उत्रिएका छन् । गाजामा युद्धविरामको पहल नगरेको भन्दै दशौं हजार इजरायली नागरिकहरु प्रधानमन्त्री बेन्जामिन नेतन्याहूप्रति आक्रोशित बन्दै प्रदर्शनमा उत्रिएका छन् ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै १ लाख भन्दा धेरै सर्वसाधारण नागरिकहरु सडकमा उत्रिएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।
राजधानी तेल अभिव वरपर कम्तीमा ५० ठाउँमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूले युद्धविरामको पहल नगरेको बताउँदै हमासको बन्धकमा परेकाहरु मारिंदै गएको र बचेकाहरुको समेत ज्यान जोगाउन पहल नगरेको आरोप लगाएका छन् ।
हालै मात्र हमासद्वारा बन्धक बनाइएका एक इजरायलीको इजरायली सेनाकै आक्रमणमा मृत्यु भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूको राजीनामा समेत मागेका छन् ।
सात अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने झण्डै ३ सय जनालाई अपहरण गरी बन्धक बनाएका थिए ।
जसमध्ये नेपालका बीपीन जोशीसहित झण्डै ५० जना अझै पनि हमासको कब्जामा रहेको विश्वास गरिन्छ । त्यसयता इजरायलले जारी राखेको आक्रमणमा १८ हजार बालबालिका सहित ३३ हजार भन्दा धेरै प्यालेस्टाइनी नागरिकको इजरायली सेनाले हत्या गरिसकेको छ ।