टोकियो, जापान ।
जापानमा आकस्मिक गर्भनिरोधक चक्की पाउन निकै मुश्किल छ । युवा जापानी र मेडिकल समूदायबीच चक्कीको बारेमा फरक फरक धारणा छ । गर्भनिरोधक चक्कीहरु काउन्टरमै किनबेचका लागि उपलब्ध गराउने लगायत चक्कीमा सहज पहुँच बनाउने माग राख्ने महिलाको संख्या बढ्दो छ ।
अर्कोतर्फ प्रसुती रोग तथा स्त्रीरोग विशेषज्ञ लगायत मेडिकल पेशाकर्मीहरु भने यस विषयमा निकै सावधानी अपनाउन भनिनरहेका छन् । यी दुई पक्षबीचको धारणामा यति धेरै अन्तर किन ? चक्कीमा सहज पहुँच दिँदा के समस्या आउँछ ? यसबारे माइनिची शिम्बुनले प्रकाशित गरेको लेखको सार ।
आकस्मिक गर्भनिरोधक औषधि एक प्रकारको हर्मोन उपचार हो । यसले गर्भधारण रोक्न ओभ्यूलेशन प्रक्रिया दबाउँछ । यौ’न सम्पर्क भएको ७२ घन्टाभित्र लिइयो भने आकस्मिक गर्भनिरोधक चक्कीले गर्भधारण रोक्ने सम्भावना करीब ८० प्रतिशत हुन्छ । जति चाँडै चक्की खाइयो सोको असर पनि उति ने चाँडो हुन्छ भन्ने धारणा पनि छ ।
गर्भनिरोधका अन्य उपायहरु असफल भएको बेलामा वा यौ’नहिं’सा, बला’त्कारका कारण गर्भधारणा रोक्न पनि उपयोगी छ । जापानमा दुई ओटा कम्पनीहरुले आकस्मिक गर्भनिरोध चक्की उत्पादन गर्छन् । तर यसलाई लिनका लागि व्यक्तिहरु स्वास्थ्य संस्थामै जानु पर्दछ ।
यो चक्की राष्ट्रिय स्वास्थ्य बीमा अनुदानमा पनि पर्दैन । यो आफ्नै खर्च किन्नु पर्दछ । यसको लागि करीब ६ हजार देखि २० हजार येनसम्म खर्च आउँछ । वर्षको अन्त्य वा नयाँ वर्षको सार्वजनिक बिदाका बेलामा क्लिनिकहरु बन्द हुँदा यस्ता चक्की झनै महँगो हुन्छन् ।
पिलकन लगायत केही गैर–नाफा मुलक संगठनहरुले आकस्मिक गर्भनिरोधक चक्कीमा पहुँच सुधार्ने लगायत विविध उपायहरुको वकालत गरिरहेका छन् । रातिको बेलामा स्वास्थ्य संस्थाहरु नखुल्ने अनि चक्की पाए पनि अति महँगोमा किन्नु पर्ने पिलकनकी निर्देशक आसुका सोमेयाले बताइन् ।
केहीले भने व्यक्तिगत प्रयोगका लागि बाहिरबाट गर्भनिरोधक आयात गर्ने गरेका छन् । यो जापानमा अनुमति दिइएका गर्भनिरोधक भन्दा सस्तो भएपनि सुरक्षित छ वा सक्कली हो भनेर बताउन गाह्रो छ । यूरोप र अमेरिकातिर गर्भनिरोधक चक्कीहरु औषधि पसलमै केही हजार येनमै किन्न पाइन्छ । केही देशमा १८ वर्ष वा सो भन्दा मुनिकाहरुलाई निःशुल्क यी चक्कीहरु उपलब्ध गराउने गरेका छन् । सन् २०२० को अक्टोबरमा सोमेयाको अध्यक्षतामा एक नागरिक समूहले स्वास्थ्य मन्त्री नोरिहिसा तामुरालाई अनलाइन याचिका बुझाएका थिए । यसमा औषधि पसलमै गर्भनिरोधक चक्की उपलब्ध गराइयोस् भनेर करीब १ लाख मानिसले हस्ताक्षर गरेका थिए ।
सन् २०२० को अन्त्यतिर मन्त्री परिषद्ले लैगिंक समतामूलक समाजका लागि पाँचौं आधारभूत योजना अनुमोदन गरेको थियो । यसमा बिना प्रेस्क्रिप्शन गर्भनिरोध चक्की उपलब्ध गराएको विषयमा छानबिन लगायतका विषय समेटिएको थियो । यसमा चक्की फर्माशिष्टकै अगाडि खानु पर्ने व्यक्ति लगायत केही अवस्थाहरुको उल्लेख गरिएको भएपनि मानिसहरुको आवाजलाई राजनीतिले वेवास्ता गरेको सोमेया बताउँछिन् ।
सन् २०१७ मा स्वास्थ्य मन्त्रालयको विज्ञहरुको समितिले फार्मेसीमा गर्भनिरोधक चक्की विक्रीबारे निर्णय नगर्ने निर्णय गरेको थियो । यसबारे अनलाइनमार्फत डाक्टरसँग परामर्शलाई सन् २०१९ मा मान्यता दिइएको भएपनि यसमा स्त्रीरोग वा प्रसुती विशेषज्ञले बिरामी हेरेकै हुन पर्ने शर्तहरु उल्लेख गरिएको छ । यी दुबै कदम सम्बन्धित समितिमा सदस्यका रुपमा रहेका डाक्टरहरुले गर्भनिरोधमा सहज पहुँच बनाउँदा यसको दुरुपयोग हुने चिन्ता व्यक्त गरेपछि आएको हो । डाक्टरहरुले आकस्मिक गर्भनिरोधक चक्कीमा सहज पहुँच दिन किन मानिरहेका छैनन् ?
गर्भनिरोधक चक्की सहजै प्राप्त गर्न सकिने बनाइयो भने थप मानिसहरुमा गर्भधारण नगर्न यस्ता चक्कीको प्रयोग गरे भइहाल्छ भने धारणा विकास हुने चिन्ता जापानमा प्रसुती रोग तथा स्त्रीरोग विशेषज्ञहरुको संगठनका उपाध्यक्ष सुगियो मेइदाको छ । चक्कीको प्रभावकारीताबारे पनि सन्देह छ । उचित तवरले चक्कीको सेवन गर्दा समेत गर्भधारण नरोकिएको दृष्टान्त छन् । यो आकस्मिक अवस्थाको लागि मात्रै प्रयोग गर्न बनाइएको औषधि भएकोले यो हरेक दिन गर्भनिरोधका लागि प्रयोग गर्ने साधन होइन भनेर बुझ्न जरुरुी छ भन्छन् मेइदा । यी चक्की सेवनको साइड इफेक्ट नरहे पनि यसले महिनावारीको चक्रमा अनियमितता गराउन सक्छ । लगातार प्रयोग गरेमा शारीरिक स्वास्थ्यमा पनि समस्या हुन सक्छ ।