(Japan) 13 th September | 2025 | Saturday | 7:01:03 AM || (Nepal) 3:46:03 AM
 
 

जापानद्धारा जापान प्रवेश र भिषा नविकरणमा अहिलेसम्मकै कडा नियम घोषणा

gokarna adhikari   POSTED ON : Friday, 06 June, 2025 | Views : 11530

जापानद्धारा जापान प्रवेश र भिषा नविकरणमा अहिलेसम्मकै कडा नियम घोषणा


टोकियो, जापान ।

जापान सरकारले सम्भवत अहिलेसम्मकै कडा नियमका रुपमा स्वास्थ्य बिमा बापतको चिकित्सा बिल नतिरि जापान छाडेका विदेशीहरूलाई पुन प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।

जापान सरकारले शुक्रबार विगतमा जापानमा चिकित्सा खर्च तिर्न असफल भएका विदेशीहरुको प्रवेश अस्वीकार गर्ने जनाएको छ । यसको अर्थ यसअघि जापान आएर चिकित्सा खर्च बापतको मासिक तिर्नुपर्ने वा अस्पतालको भूक्तान गर्न बाँकी रकम नतिरि जापान छाडेर गएको पाइएमा त्यस्ता व्यक्तिले अब फेरि जापान आउन पाउने छैनन् ।

सरकारले जापानमा राष्ट्रिय स्वास्थ्य बीमा वा पेन्सन प्रिमियम तिर्न असफल भएका मध्यम र दीर्घकालीन विदेशी बासिन्दाहरूलाई पनि आफ्नो बसाइ अवधि नवीकरण गर्न वा आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न अनुमति नदिने बताएको छ ।

स्वास्थ्य बिमा रकम नतिरेकाहरुका लागि अहिलेसम्मकै कडा नियमको रुपमा लागू गर्न लागिएको यो नियम स्वास्थ्य बिमा रकम नतिर्नेहरुमाथि कडा नियमको एक भागको रुपमा हेरिएको छ । सरकारले स्वास्थ्य बिमा रकम नतिर्ने कामदारहरूलाई भर्ना गर्ने संस्थाहरू मार्फत निर्दिष्ट सीप भिसा भएका विदेशी कामदारहरूको सामाजिक बीमा प्रिमियम भुक्तानी बाँकी छ छैन भनेर चेकजाँच समेत गर्ने भएको छ ।

जापानले निश्चित स्तरभन्दा बढी बक्यौता भएका कम्पनीहरूलाई विदेशीहरूलाई स्वीकार गर्न अनुमति नदिने बारेमा समेत कदम चाल्नसक्ने भएको छ ।

जापानी प्रधानमन्त्री सिगेरु इशिबाका अनुसार जापानीहरुमा रहेको बिदेशीहरुले स्वास्थ्य बिमा तथा पेन्सन रकम तिर्दैनन् भन्ने भावना र गुनासो हटाउन तथा स्वास्थ्य बिमाको उठ्न बाँकी रकममा कडाई गर्न यस्तो कदम चालिन लागिएको हो । कहिलेबाट लागू गर्ने मिति घोषणा नभइसकेपनि यथासक्य छिटो कार्यान्वयनमा ल्याउन इशिबा सरकारले प्रधानमन्त्री कार्यालयमा यसको विषयमा हेर्न छुट्टै विभाग बनाउने भएको छ ।