टोकियो, जापान ।
जापान सरकारले गर्मी स्ट्रोक अलर्ट जारी गर्न सुरु गरेको छ । गर्मी समय सुरु भएसँगै वार्षिक कार्यक्रम अन्तर्गत जापानले गर्मीबाट सुरक्षित रहने उपायहरु र सचेतना जगाउन सुरुवात गरेको हो ।
गर्मीको अवस्था गम्भीर हुँदा विशेष गर्मी स्ट्रोक अलर्ट जारी गरिन्छ । यो कार्यक्रम हरेक बर्ष अक्टोबर २२ मा समाप्त हुन्छ ।
जापानमा मौसम विज्ञान एजेन्सी र वातावरण मन्त्रालयले दिउँसो ५ बजेतिर र बिहान ५ बजेतिर गर्मी स्ट्रोक अलर्ट जारी गर्छन् जुन दिन तापक्रम र आर्द्रता जस्ता कारकहरूमा आधारित गर्मी सूचकांक अवलोकन बिन्दुहरूमा ३३ डिग्री वा सोभन्दा बढी पुग्ने अनुमान गरिएको हुन्छ ।
अलर्ट जारी गरिएको अवस्थामा, मानिसहरूलाई अनावश्यक बाहिर ननिस्कन, वातानुकूलित प्रयोग गर्न, हाइड्रेटेड रहन र कडा व्यायाम गर्नबाट टाढा रहन आह्वान गर्ने गरिन्छ ।
३५ डिग्री वा सोभन्दा माथि तापक्रम पुगेमा व्यापक क्षेत्रमा गम्भिर स्वास्थ्य जोखिमहरू निम्त्याउन सक्छ ।
जेएमएले विगत १०० वर्षमा जुनदेखि अगस्टसम्मको औसत तापक्रम १.३ डिग्री सेल्सियसले बढेको बताएको छ ।
गत जुलाईमा, छ स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम अवलोकन गरिएको थियो । गत वर्ष गर्मीको औसत तापक्रम औसत वर्षको तुलनामा १.७६ डिग्री सेल्सियस बढी थियो, जसले गर्दा यो र अघिल्लो गर्मी १८९८ मा जेएमएले तथ्याङ्क रेकर्ड गर्न थालेदेखि रेकर्डमा सबैभन्दा तातो बन्यो ।
गर्मीबाट मर्नेहरूको संख्या पनि बढ्दै गएको छ । अधिकारीहरुका अनुसार २०२२ मा १,४७७ जना, २०२३ मा १,६५१ जना र २०२४ मा २,०३३ जनाको गर्मिकै कारण स्वास्थ्य समस्या आउँदा मृत्यु भएको छ ।
उच्च गर्मीबाट जोगिने उपायहरु
गर्मीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने ।
बाहिर निस्कनै परेमा पातलो कपडा लगाउने, छाता ओढ्ने
घाममा बाहिर निक्लंदा चिसो रुमाल बोक्ने र बेलाबेलामा अनुहार तथा टाउको ढाक्ने
सफा पानि, चिसो पेय पदार्थ, फलफूलको रस तारन्तार पिउने शरिरमा पानिको मात्रा कम हुन नदिने
गर्मी भयो भनेर मदिरा सेवन नगर्ने, यसले झन धेरै असर गर्दछ
चिसो पानीले समय मिलेसम्म दिनको दुई, तीन पटक शरिर पखाल्ने नुहाउने
घाम लागेको समयमा बाहिरि काम सकभर बिहान बेलुका गर्ने
कफी, सोडा, चिया जस्ता पेय पदार्थले बढि पिसाब गराउने भएकाले सकभर कम पिउने
चिनीको मात्रा बढी भएको पेय पदार्थ वा झोल पदार्थ कम पिउने
घर बाहिरको यात्रामा निक्लंदा साथमा पानिको बोतल बोक्ने
गर्मीको समयमा शारिरिक व्यायाम कम गर्ने वा आराम गर्दै विस्तारै गर्ने
घर, कोठामा रहँदा पंखा, एसी लगायत विद्युतिय सामग्री प्रयोग गरेर कोठालाई चिसो बनाउने
घरको झ्याल ढोका पुरै बन्द नगर्ने, धेरै गर्मी वा धेरै चिसो भएमा झनै असर गर्ने हुँदा हावा सामान्य आउजाउ हुने ठाउँ राख्ने
रात वा दिनको समयमा सुत्दा एसि धेरै चिसो बनाएर नसुत्ने
गर्मीमा मादक पदार्थ पिएर, एसि चलाएर सुत्दा ज्यान समेत जानसक्ने जोखिम हुने भएकाले मादक पदार्थ नपिउने वा कम पिउने र त्यस्तो समयमा एसि धेरै चिसो नबनाई सामान्य तापक्रममा राख्ने
गर्मीको समयमा तिर्खा लाग्ला पानी वा अन्य तरल पदार्थ एकछिनमा पिउँला भनेर ढिलाई गर्नु हुँदैन । पसिना, पिसाब तथा गर्मीले तातिएर सामान्य समयमा भन्दा धेरै पानिको मात्रा शरिरलाई चाहिने हुँदा एक पटकमा आधा लिटरसम्म र जतिसक्दो धेरै पटक सफा पानि वा पेय पदार्थ तारन्तार पिइरहनु पर्दछ ।यसैगरी, गर्मीबाट जोगिन तरल पदार्थको नाममा मदिराजन्य वा धेरै बढी चिनी भएको तरल पदार्थ भने सेवन गर्नु हुँदै । यसले फाइदा भन्दा असर धेरै गर्छ किनभने यस्ता पेय पदार्थले शरीरमा भएको तरल पदार्थमा कमी गराउँछ ।
स्वास्थ्य विशेषज्ञहरुका अनुसार गर्मीबाट राहत पाउने नाममा धेरै चिसो पेय पदार्थ सेवन गर्नु हुँदैन । धेरै बढी चिसो भएको पेय पदार्थले तपाईंको पेट दुख्ने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा सधैं आफूसँग भएको पानी वा फलको रस पिउनु पर्दछ । दुई तीन घण्टासम्म तिर्खा नलागेपनि पनि पानी वा तरल पदार्थ पिउनुपर्दछ ।
प्रत्येक घण्टा २ देखि ४ ग्लास तरल पदार्थ सेवन गर्नु गर्मीको समयमा स्वास्थ्यको लागि राम्रो मानिन्छ । शरिरलाई आवश्यक मात्रामा पानि पुगेको छ वा छैन भनेर आफैंले पनि जाँच्न सकिन्छ । यसको लागि आफ्नो पिसाबको रंग हेर्न सकिन्छ । सफा र सेतो पिसाब भए शरीरमा तरल पदार्थको मात्रा सन्तुलित छ भन्ने बुझ्नुहोस् पहेंलो, रातो रंग वा धमिलो भए पानी नपुगेको बुझेर जतिसक्दो तरल पदार्थ तारन्तार नियमित पिउने गर्नुहोस् । बढी गर्मीको समयमा बाहिर निस्किनु परेमा वातानुकूलित भएको ठाउँमा केहि बेर बिताउन सकिन्छ ।
जस्तै शहरबजार तिर सपिङ मल, कन्भिनियन्स स्टोर, रेल स्टेसन लगायत एसि चलिरहेका वातानुकूलित ठाउँमा केही समय बिताएर शरिर चिसो बनाउन सक्नुहुन्छ । गर्मीबाट जोगिन समुन्द्र, खोला नाला, पौडी पोखरी आदिमा गएर पनि शरिरको तापक्रम सामान्य राख्न सकिन्छ । तर केहि बेर चिसो पानिमा बसेर त्यो भन्दा धेरै समय घाम वा गर्मी स्थानमा बस्नुभयो भने त्यसले खासै फाइदा गर्दैन त्यसैले यस्तो कुरामा ध्यान दिनुहुन अनुरोध गर्दछौं ।
स्वास्थ्य विशेषज्ञहरु गर्मीमा धेरै तरल पदार्थ पिउन, वातानुकुलित मौषममा बस्न तथा चिसो पानीले नुहाउनु धेरै फाइदाजनक हुने बताउँछन् । तपाईं रहेको ठाउँको तापक्रम अत्यधिक बढेको छ भने घरबाहिरको गतिविधिलाई बिहानदेखि साँझसम्म कम गर्नु अर्को उपयुक्त विकल्प हो । यस बाहेक अत्यधिक गर्मीका बेला दिनहुँ गरिने व्यायामहरु कम गर्न वा बन्द गर्नसक्नुहुन्छ ।
व्यायाम गर्नुपरेमा आधा वा एक घण्टाको बिचमा चिसो पानी पिउन भने भुल्नु हुँदैन । बाहिरी यात्रा गर्दा गर्मी मौसममा चौतारी, रुख, पार्क वा घाम छेक्ने र हावा चल्ने चिसो ठाउँहरुमा बस्नु पनि गर्मीबाट जोगिने अर्को उपाय हो ।गर्मीलाई सामान्य नठानौं, ख्यालख्यालमै ज्यान जान सक्छ गर्मीबाट बृद्धबृद्धा वा शारिरिक रुपमा कमजोर व्यक्ति मात्र हैन जुनसुकै व्यक्ति जुनसुकै समयमा सिकार हुन सक्छन् ।
विशेषगरि शिशु र स साना बालबालिका, ६५ वर्ष नाघेका बृद्ध व्यक्तिहरू, मानसिक समस्या भएका, शारीरिक रूपमा रोगी गर्मीको जोखिममा रहेका व्यक्तिहरु हुन् । यसमा पनि मुख्य रूपले मुटुसम्बन्धी रोग र उच्च रक्तचाप भएकाहरू गर्मीबाट उच्च जोखिममा रहेका हुन्छन् । किनभने सामान्य गर्मीबाट उत्पन्न हुने समस्याहरु पनि मुटुको रोग र ब्लड पेसर हाइ भइका व्यक्तिहरुको लागि ज्यान लिनसक्ने जोखिम हुन्छ ।
गर्मीबाट मुख्यत निम्न असरहरु पर्ने वा संकेत देखिन्छन् । यदि तपाईंमा पनि गर्मीको समयमा तल उल्लेखित कुनै संकेत देखिएमा माथि उल्लेख गरिएका उपायहरु अपनाउनुहुन अनुरोध गर्दछौं ।
मुटुको चाल बढ्ने
श्वासप्रश्वास र रक्तचाप कम हुने
गर्मी महशुस भएपनि शरीरबाट पसिना ननिस्कने
कुनै रोग नभएपनि गर्मी हुँदै जाँदा अकस्मात टाउको अत्यधिक दुख्ने
रिंगटा चक्कर लाग्ने, बेहोस अचेत हुने
शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी भयो भने
शरिरको छाला सुक्खा, रातो र तातो हुने