(Japan) 13 th September | 2025 | Saturday | 7:01:06 AM || (Nepal) 3:46:06 AM
 
 

जापानमा नियम, कानुन पालना नगर्दा जरिवाना, जेल र डिपोट बढ्दो-नबुझ्नु समस्या, बुझेर पालना नगर्दा झनै समस्या (भिडियो सहित)

  POSTED ON : Monday, 01 September, 2025 | Views : 446

जापानमा नियम, कानुन पालना नगर्दा जरिवाना, जेल र डिपोट बढ्दो-नबुझ्नु समस्या, बुझेर पालना नगर्दा झनै समस्या (भिडियो सहित)


टोकियो, जापान ।

जापानमा बढ्दो नेपालीहरुको संख्या सँगै यहाँको नियम, कानुन पालना नगर्दा कानूनी कारवाहीमा पर्ने नेपालीहरुको संख्या बढ्दो पाइएको छ । यसैलाई मध्यनजर गर्दै नेपाली राजदूतावासले टोकियो महानगरीय प्रहरी विभाग तथा एनआरएनए जापानसँग सहकार्य गरेर एक दिने नियम, कानूनी र सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ ।

टोक्योस्थित नेपाली दूतावास, टोक्यो महानगर प्रहरी विभाग तथा एनआरएनए जापानको संयुक्त पहलमा भएको नेपाली समुदाय लक्षित “जापानको नियम, कानूनी र सुरक्षा सम्बन्धी” कार्यक्रम टोक्योस्थित “मेगुरो पर्सिमोन“ हल मा शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न प्रस्तुती मार्फत जापानमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई यहाँको कानूनी व्यवस्था, सुरक्षा प्रक्रिया तथा सामाजिक नियम र मर्यादामा रहेर व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

सहभागीहरूलाई दैनिक जीवनमा पालना गर्नुपर्ने नियम–कानून, ठगी वा गैरकानूनी गतिविधिबाट जोगिन अपनाउनुपर्ने सावधानी, साथै आत्म,सुरक्षासम्बन्धी आधारभूत सीपहरूबारे समेत प्रस्तुती देखाइएको थियो ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले दूतावासमार्फत प्रदान गरिने सेवामा कुनै असुविधा भएमा आफूलाई प्रत्यक्ष जानकारी दिन आग्रह गर्दै नेपाल–जापानबीचको दीर्घकालीन मित्रता, आपसी सहयोग र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन जापानमा रहेका नेपालीहरुले यहाँको संस्कार र नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली नागरिकहरुले जापानमा रहेपनि आफ्नो देशको कानूनसँगै जापानको नियम र कानुन तथा अन्तर्राष्ट्रिय कानूनको समेत पालना गर्नुपर्ने भएकाले आफ्नो उदेश्य सम्झिएर नियम पूर्वक जापानमा रहन आग्रह गर्नुभयो ।

भिडियो हेर्नुहोस्

 

कार्यक्रममा टोकियो महानगर प्रहरी विभागका वरिष्ठ अधिकारीहरूले जापानी कानूनी संरचना, सुरक्षा उपाय तथा स्थानीय समाजसँग घुलमिल भई सुरक्षित रूपमा बसोबास गर्नुपर्ने व्यवहारिक पक्षबारे जानकारी प्रदान गरेका थिए ।

भिडियो हेर्नुहोस्


सोही कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले नेपाली समुदायलाई जापानको कानूनी, सामाजिक र सांस्कृतिक मूल्य–मान्यताको दायराभित्र रहेर जीवनयापन तथा कार्य गर्न आग्रह गरेका थिए ।

भिडियो हेर्नुहोस्

यसैगरि जापानबारेमा जानकार मानिनुहने चुकुबा विश्वविद्यालयका आंशिक प्राध्यापक जिज्ञान कुमार थापाले जापानमा बसोबास गर्दा पालना गर्नुपर्ने कानूनी प्रावधान र सामाजिक मूल्य मान्यताका व्यवहारिक पक्षबारे जानकारीहरु प्रस्तुत गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस्

 

यसैगरि एनआरएनए जापानकी महिला सचिव ललिता तामाङले जापानको नियम–कानून अनुसार अनुशासित जीवनयापन गर्न नेपाली समुदायलाई अनुरोध गर्दै महिलाहरुले यहाँको कानून अनुसार आफुुलाई प्रस्तुत गर्न र कुनै महिलाजन्य हिंसा वा पिडित हुनुपरेमा जापानको सरकारी निकायहरुको सहयोग लिन आग्रह गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस्

एनआरएनए जापानका प्रवक्ता रविन शर्माका अनुसार कार्यक्रम मार्फत जापानमा रहेका नेपाली समुदायलाई कानूनी, सामाजिक तथा सुरक्षा सम्बन्धी आवश्यक ज्ञान प्रदान गर्नु तथा जापानका नेपालीहरुको सशक्तिकरणमा योगदान पुग्ने विश्वास लिइएको छ ।