टोकियो, जापान ।
जापान सरकारले जुन १ तारिखबाट विश्वभरबाट जापान आउने यात्रुहरुका लागि खोप, कोभिड परीक्षण सहित क्वारिन्टिनको नयाँ नियम लागू गराएको छ । यसै क्रममा नेपालबाट आउने यात्रुहरुका लागि पनि अवस्था अनुसार कोभिड परीक्षण सहित क्वारिन्टिन नियम लागू हुने भएको छ ।
जापानको बिदेश मन्त्रालयले देशहरुलाई तीन वटा समुहमा विभाजन गर्दै नियमहरु तोकेको छ । जसमा नीलो, पहेँलो र रातो रहेको छ । नीलोको अर्थ कोभिड संक्रमण तथा उक्त देशमा खोपको अवस्था सामान्य छ भन्ने हो । पहेँलोको अर्थ व्यक्ति अनुसार खोप नलगाएको वा लगाएको भए कति पटक लगाएको जस्ता अवस्था हेरेर नियममा छुट दिने साथै उक्त देश वा क्षेत्र अझै कोभिडको जोखिममा रहेको छ भन्ने अर्थ लगाएको देखिन्छ । रातो समुहमा केवल चार वटा देशलाई राखिएको छ । जहाँ कोभिड संक्रमण उच्च जोखिम रहेको भन्दै नियम कडा गरिएको छ ।
निलो समुहमा ९८ देश र क्षेत्र तथा पहेँलो समुहमा ९९ वटा देश र क्षेत्रहरुलाई राखिएको छ ।
नेपाल पहेँलो समुहमा
भारत, क्युबा, पोर्चुगल, कुवेत सहित ९९ देश र क्षेत्रहरू पहेंलो रूपमा वर्गीकृत छन् । जुन समुहमा नेपाल पनि रहेको छ ।
नेपालबाट आउनेलाई यस्तो छ नियम
नेपालबाट आउने व्यक्तिहरुको लागि निश्चित यहि नियम भनेर एकनासको नियम छैन । अर्थात् व्यक्तिले खोप लगाए, नलगाएको, तथा लगाएको भए कतिवटा लगाएको सो अनुसार जापानले कोभिड परीक्षण र क्वारिन्टिन नियम तोकेको छ ।
नेपालबाट आउने जो कोहि व्यक्तिहरुले जापानले तोकेको तीनवटा कोभिड बिरुद्धको खोप लगाएका छन् भने उनिहरुले एयरपोर्टमा कोभिड परीक्षण छुट पाउनेछन् । अर्थात् तीनवटा खोप लगाएका व्यक्तिहरुले एयरपोर्टमा कोभिड परीक्षण गराउनुपर्दैन । जापानले हालसम्म फाईजर, मोडेर्ना, अष्ट्राजेनेकालाई स्विकृत भ्याक्सिनमा राखेको छ भने जोनसन एण्ड जोनसन भ्याक्सिनलाई पनि अनुमति दिने अन्तिम तयारी गरेको छ । साथै तीनवटा खोप लगाएको प्रमाण पेश गर्ने व्यक्तिहरुले हाल घरमा क्वारिन्टिन बस्नुपर्ने नियमपनि छुट पाउनेछन् । तर जसले तीन पटक खोप लगाइएको छैन उनीहरुले घरमा सात दिनसम्म क्वारिन्टिन बस्नुपर्नेछ, यद्यपी तेस्रो दिनमा कोभिड परीक्षण गराएर नेगेटिभ आएको रिपोर्ट पेश गरेमा भने तीन दिनमा क्वारिन्टिन अवधि सकिन्छ । खोप नलगाएका वा दुई मात्रासम्म मात्र खोप लगाएका व्यक्तिहरुले भने एयरपोर्टमा हालकै नियमानुसार कोभिड परीक्षण गराउनुपर्नेछ ।
यसमा झुक्किन नहुने विषय के हो भने नेपालबाट आउँदा नेपालको बिमानस्थल र जापानको एयरपोर्टमा सबैले अनिवार्य कोभिड परीक्षणको नकारात्मक रिपोर्ट पेश गर्नुपर्नेछ । यसरी परीक्षण गरिएको कोभिड बिरुद्धको रिपोर्ट तोकिएको ढाँचामा ७२ घण्टाभित्रको हुनुपर्नेछ ।
नेपालबाट जापान आउँदा गरिने कोभिड परीक्षणको नमुना तथा तरिकाहरु तपाईंले हवाई टिकट काट्ने ट्राभल वा बिमान कम्पनीहरुबाट पनि प्राप्त गर्नसक्नुहुन्छ वा जानकारी गराउनु उनिहरुको दायित्व हो ।
जापानबाट नेपाल जाने व्यक्तिहरुले यसअघि जस्तै दुई मात्रा खोप लगाएको छ भने पीसीआर परीक्षण गराउनुपर्दैन भने खोपको मात्रा पुरा नगरेका व्यक्तिहरुले पीसीआर परीक्षणको ७२ घण्टाभित्रको नकारात्मक रिपोर्ट अनिवार्य साथमा लिएर जानुपर्दछ ।