टोकियो, जापान ।
जापान सरकारले कोरोना भाइरस सीमा नियन्त्रणका कारण आफ्नो देश फर्कन नसक्ने विदेशीहरूलाई जापानमा आफ्नो बसाइ विस्तार गर्न अनुमति दिने उपायलाई जूनको अन्त्यबाट बन्द गर्ने भएको छ ।
जापान अध्यागमन सेवा एजेन्सीले मंगलबार टोकियो अध्यागमनले कोरोना महामारिका कारण उडान अभाव वा अन्य कारणले आफ्नो देश फर्कन असमर्थ भएकाहरुको लागि जापानमा बस्नको लागि भिषा थप गरिदिंदै आएको उपाय बन्दको घोषणा गरेको छ । किनभने विश्वभर सबै देशहरूले बिस्तारै आफ्नो सीमा नियन्त्रणहरू खुकुलो पारेको र कुनैपनि देश कोभिड महामारिकै कारण फर्कन समस्या नरहेको कारण त्यस्तो छुट बन्द गरिन लागिएको हो ।
यो उपाय मार्च २०२० मा कोभिड महामारीको प्रारम्भिक चरणमा लागू गरिएको थियो । प्रायः विदेशीहरूलाई लक्षित गर्दै लागू यो नियमानुसार प्राविधिक इन्टर्नशिप कार्यक्रमहरू वा जापानमा अध्ययन पूरा गरेका विद्यार्थी सहित अन्य भिषामा जापानमा आएर रोकिन पुगेकाहरुले एक पटकमा अधिकतम ६ महिनाको भिषा पाएर जापानमा रहँदै आएका थिए ।
एजेन्सीका अनुसार, जुन ३० मा वा सोभन्दा पछि ६ महिनाको भिषामा तोकिएको भिसाको म्याद सकिन लाागेका, आफ्नो बसाइ लम्ब्याउन चाहने व्यक्तिहरू थप चार महिना जापानमा बस्न सक्नेछन्, तर उनीहरूले त्यस पश्चात जापान बसाई लम्बाउन पाउने छैनन् । कोभिड छुटको नभई बैधानिक भिषामा नै उनिहरुले जापान बसाईलाई लम्बाउनुपर्नेछ ।
जापानमा ९० दिनको छोटो बसाइको भिसा पाएका, जसमध्ये धेरैजसो आफन्तलाई भेट्न वा व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन्, उनीहरूले जुन ३० देखि आफ्नो बसाइ विस्तार गर्न सक्ने छैनन् ।
अप्रिलको अन्त्यसम्म कोभिड महामारिको भिषा छुट अन्तर्गत करिब ७९,६०० विदेशीहरू जापानमा बसिरहेका थिए । सीमा नाकामा सहजता आएसँगै यो वर्षको सुरुदेखि नै यस्तो संख्या घट्दै गएको छ ।