टोकियो, जापान ।
मुख्यत नेपाली बालबालिकाहरुलाई लक्षित गरेर जापानमा रहेका नेपाली व्यवसायीहरुले सर्वसुलभ मुल्यमा गुणस्तरिय शिक्षा उपलब्ध गराउने प्रतिबद्धता सहित नयाँ विद्यालय संचालनमा ल्याउने भएका छन् ।
राजधानी टोकियो सहित साइतामालाई समेत मध्यनजर गरेर एशियन ब्रिज इन्टरनेश्नल स्कुल स्थापनाको घोषणा सहित सन् २०२५ को जनवरीबाट अध्यापन सुरु गर्न लागिएको विद्यालयका संचालकहरुले जानकारी गराएका छन् ।
टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर जापानमा नेपालीहरुको जनसंख्या बढेसंगै बालबालिकाहरुलाई हालको विद्यालयले चाप धान्न गाह्रो परेको तथा जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने लक्ष्य सहित आफुहरुले विद्यालय संचालनमा ल्याउन लागेको दाबी विद्यालय संचालकहरुको छ ।
जापानमा नै संचालित अन्य नेपाली बालबालिकाहरु लक्षित विद्यालयमा लगानी सहित संचालक समितिमा रहेका सदस्यहरु सहित ७० जनाबाट १० करोडको सामुहिक लगानीमा सन २०२५ को अप्रिलबाट पठन-पाठन संचालन गर्नेगरि विद्यालयको सुरुवात गरिएको बताइएको छ ।
जापानमा इन्टरनेश्नल अटर्नीको रुपमा समेत परिचित डा. बलराम श्रेष्ठको नेतृत्वमा राजधानी टोकियोको किताकु स्थित खामीनाखाजातोमा विद्यालय खोल्न लागिएको हो । स्कुलमा टोकियो तथा साईतामा प्रिफेक्चरमा बसोवास गर्ने बालबालिकाहरु समेतलाई आवातरजावत गर्न सहज हुनेगरि विद्यालय बसको समेत व्यवस्थापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रारम्भिक रुपमा सार्वजनिक गरिएको स्कुलको व्यवस्थापन बोर्डमा अध्यक्ष डा. बलराम श्रेष्ठ तथा कार्यकारी सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, बिगेन राजकर्निकार र मनिराज सिलवाल रहेका छन् । त्यसैगरि विद्यालयको शैक्षिक निर्देशकमा दुर्गा पौड्याललाई जिम्मेवारी तोकिएको छ ।
नेपाली तथा जापानी पाठ्यक्रम सहित अँग्रेजी भाषा समेतमा अध्यापन गराई विश्व बजारमा प्रतिस्पर्धि हुनसक्नेगरि बालबालिकाहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानले सक्षम बनाउनेगरि उत्कृष्ठ शिक्षा प्रदान गर्न शैक्षिक निर्देशक पौड्यालले सो अवसरमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रारम्भिक चरणमा एसियन ब्रिजमा प्रिस्कुलदेखि ४ कक्षासम्मको पढाइ संचालन गरिने भएपनि भविष्यमा कलेज सञ्चालन गरी विभिन्न रोजगार भिषामा आउने नेपालीहरूको समस्यालाई मध्यनजर गरी स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्ने योजना रहेको विद्यालयका निर्देशक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
शैक्षिक निर्देशक पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, चरित्र विकास र बालबालिकाको ज्ञान लिनसक्ने क्षमताका आधारमा ज्ञान प्रदान गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष नबिन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त कुमार पहरी, आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा सहित जापानमा क्रियाशिल आधा दर्जन संचारकर्मीहरुको सहभागीता रहेको थियो ।