(Japan) 15 th April | 2026 | Wednesday | 12:36:48 PM || (Nepal) 9:21:48 AM
 
 


चिनियाँ पर्यटक घटेपछि जापानमा होटलको भाडा एक मान बाट ३ हजारमा झर्यो

  POSTED ON : Friday, 19 December, 2025 | Views : 768

चिनियाँ पर्यटक घटेपछि जापानमा होटलको भाडा एक मान बाट ३ हजारमा झर्यो


टोकियो, जापान ।

जापान र चीनबिचको कुटनीतिक विवादको सिधा असर जापानको पर्यटन क्षेत्रमा देखिन थालेको छ । चीनले आफ्ना नागरिकहरूलाई जापान भ्रमणमा नजान आग्रह गरेपछि जापानका प्रमुख पर्यटकीय सहरहरूमा चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटेको छ ।

जसको प्रत्यक्ष असर पर्यटकिय क्षेत्रका होटल व्यवसायमा परेको छ । जहाँ क्योतो जस्ता सहरमा होटलको कोठा शुल्क एक मान येनबाट ३,००० येनसम्म झरेको छ ।

यसअघि उच्च मागका कारण २ मान येन आसपासको महँगो मानिने होटलहरू अहिले १०,००० येनभन्दा कम मूल्यमा उपलब्ध हुन थालेका छन् । कामाकुरा र क्योतोका स्थानीय व्यापारीहरूका अनुसार चिनियाँ पर्यटकको संख्यामा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 

चिनियाँ वायुसेवा कम्पनीहरूले जापानका लागि ३० प्रतिशत भन्दा बढि उडानहरु मार्च अन्त्यसम्म रद्द गरेकाले यो अवस्था केही समयसम्म रहने अनुमान गरिएको छ । पर्यटकको संख्या घटेपछि भीडभाड कम हुँदा अन्य देशका पर्यटकलाई भने घुमघाममा सहज भएको बताइन्छ ।

यो परिवर्तनले विशेषगरी ओसाका, नागोया र फुकुओका जस्ता सहरका होटल बजारमा पनि ठूलो प्रभाव पारेको छ । टोकियोमा समेत यसअघि कोठा पाउन मुश्किल पर्ने होटलहरुमा सहज रुपमा मध्यम कोटिका होटलका कोठाहरु उपललब्ध हुन थालेका छन् ।

जापानको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको योगदान करिव ३० प्रतिशत रहेको छ । चिनियाँ पर्यटकहरुको आगमन घट्दा पर्यटयिक व्यवसायहरु समस्यामा पर्न थालेपछि जापानी प्रधानमन्त्री सानाइ ताकाइचीले जापानी नागरिकहरुलाई आन्तरिक पर्यटनमा सहयोग गर्न समेत आग्रह गर्दै आन्तरिक यात्रालाई प्राथमिकता दिन आग्रह गरेकी छिन् ।

चीन र जापान बिचको पछिल्लो विवाद जापानी प्रधानमन्त्री ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरेमा त्यसलाई सिधा जापानमाथिको आक्रमण ठान्ने भनि दिएको अभिव्यक्तिपछि चुलिंदै गएको छ ।