(Japan) 19 th April | 2024 | Friday | 3:25:42 AM || (Nepal) 12:10:42 AM
 
 


नेपाल जापान डाईलग सिरिजमा नेपालको स्वास्थ्य क्षेत्र सुधारमा जापानी विज्ञले दिए यस्ता सुझाव

Narendra Basnet 'Dinesh'   POSTED ON : Friday, 08 February, 2019 | Views : 3028

नेपाल जापान डाईलग सिरिजमा नेपालको स्वास्थ्य क्षेत्र सुधारमा जापानी विज्ञले दिए यस्ता सुझाव


टोकियो ।

जापानका स्वास्थ्य विज्ञ तथा नेपाली चिकित्सक एवं विज्ञहरुले नेपालको स्वास्थ्य क्षेत्रको विभिन्न पक्षबारे छलफल गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि विभिन्न सुझाव र सल्लाह दिएका छन् ।

जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल जापान डार्इलग सिरिजको तेश्रो श्रृंखलाका क्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

यही फेब्रुअरी ३ तारिख आईतबार टोक्योको इचिगाया स्थित जाइका अन्तरास्ट्रिय सभा हलमा भएको डाईलग सिरिजमा विज्ञहरुले जापानको स्वास्थ्य क्षेत्र र नेपालको स्वास्थ्य क्षेत्रको अवस्थाबारे छलफल गर्दै आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबिच नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल गरिएको थियो ।

दुई सत्रमा बिभाजन गरिएको यस कार्यक्रमका सहजकर्ता डा.प्रकाश शाक्यले जापानमा विश्वकै उत्कृष्ठ प्रबिधि र बिकाश भएकोले जापानको स्वास्थ क्षेत्रबाट नेपालले धेरै कुराहरु सिक्न सक्ने बताउनुभयो ।

पहिलो सत्रमा युनिभर्सिटी अफ टोक्यो हेल्थ साइन्सका अध्यक्ष प्रा.डा.यासुओ साकुमाले नेपाल सरकारले क्लिनिकल क्षेत्रमा चिकित्सकका साथै हेल्थ अनुसन्धानकर्ता र आधारभूत मेडिसिनका बिज्ञहरुपनि उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस्तै चिकित्सा शास्त्रको अध्यापन अंग्रेजी भाषामा भन्दा पनि आफ्नै देशको मातृ  भाषामा गराउँदा चिकित्सक र बिरामी बीचको दुरी कम हुने जापानी अनुभव सुनाउनुभएको थियो ।

आफ्नै ल्याबबाट २ जना नेपालीले पिएचडि गरिसकेको स्मरण गराउदै उहाँले भविष्यमा अरुपनि इच्छुक नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्न आफु तत्पर रहेको बताउनु भएको थियो ।

दोश्रो बक्ताका रुपमा मेडिकल डाटा कार्ड कम्पनीका चिफ अपरेटिंग अफिसर यासुयुकी सुजुकीले आफ्नो मेडिकल रेकर्डहरुलाइ डिजिटलमा राख्नु पर्ने बताउनु भएको थियो ।

त्यसो गरिदा प्राकृतिक प्रकोपको बेला पनि आफ्नो रेकर्डहरु नष्ट नहुने र यस्ता डाटाहरु आफुलाई चाहिएको बेला तुरुन्तै आफ्नै मोबाईल फोनबाट तुरुन्तै हेर्न सकिने बताउनु भएको थियो ।

तेश्रो बक्ताका रुपमा इताबाशी मेडिकल असोसिएसन हस्पिटलका निर्देशक प्रा.डा.हिरोयुकी इजुमीले जापानमा स्वास्थ्य बीमा प्रणालीको सुरुवाति र यसको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

स्वास्थ्य बीमा हुदा बिरामीहरुले हस्पिटलमा लाग्ने खर्चको बारेमा खासै चिन्ता लिन नपर्ने भएकोले त्यस्तो देशहरुमा स्वास्थ्य प्रणालीनै समग्रमा राम्रो हुने धारणा राख्नुभयो । जापानमा प्रत्येक व्यक्तिले आफ्नो तलबको लगभग १० प्रतिशत स्वास्थ्य बिमाको लागि अनिबार्य रुपमा तिर्न पर्ने र सरकारले पनि आफ्नो बजेटको करिव १० प्रतिशत स्वास्थ्य बिमामा खर्च गर्दै आएको बताउनुभएको थियो ।

दोश्रो सत्रका पहिलो बक्ताका रुपमा टोक्यो युनिभर्सिटीका उप प्राध्यापक डा.लुशुन चालिसेले नेपाल र जापान मेडिकल प्रणालीको फरक साथै जापानबाट सिक्न सकिने पक्षहरु औल्याउनु भएको थियो ।

जापानमा रेफेर्रल प्रणाली प्रचलित रहेको बताउदै जेनेरल फिजिसियनले तुरुन्तै बिशेषज्ञ चिकित्सककोमा पठाउने गरिएको बताउनु भएको थियो ।

नेपालमा क्लिनिकल साथै रिसर्चको पनि चिकित्सकहरुलाई ज्ञान दिईनु पर्ने बताउनु भएको थियो ।

दोश्रो सत्रका दोश्रो बक्ताका रुपमा सुइता तोकुसुकाइ हस्पिटल ब्रेस्ट क्यान्सर विभागका निर्देशक डा.यासुहिसा फुजिमोतोले आफुले स्तन क्यान्सरको बिरामीको लागि नेपालमा प्रथम पटक गुलाबी रिबन अभियान सुरु गरेको बताउदै नेपालमा स्तन क्यान्सर सम्बन्धि चेतना आवश्यक भएको बताउनु भएको थियो ।

म्यामोग्राफी नेपालमा महँगो हुने बताउदै अल्ट्रासाउन्ड प्रबिधि कम खर्चिलो हुनाको साथै म्यामोग्राफी भन्दा पनि अझै प्रभावकारी रहेको बताउनु भएको थियो ।

गत वर्ष विश्व प्रसिद्ध जर्नल लान्चेतमा प्रकाशित भएको एउटा लेख अनुसार जापानमा गरिएको एउटा अनुसन्धानमा धेरै बिरामीहरुमा म्यामोग्राफीले ब्रेस्ट क्यान्सर पत्ता लगाउन नसकेको स्मरण सो अवसरमा जानकारी गराईएको थियो ।

वक्ताका रुपमा टि आइसीयु कम्पनीका अध्यक्ष डा.तोमोयुकी नाकानिशीले आफ्नो कम्पनीले बंगलादेशमा टेली मेडिसिन क्षेत्रमा सहयोग गरिरहेको बताउदै नेपालमा पनि आफ्नो सेवा बिस्तार गर्न इच्छुक भएको बताउनु भएको थियो ।

दोश्रो सत्रका अन्तिम बक्ताका रुपमा एकारिया कम्पनीका अध्यक्ष रुइची ओनोसेले आफ्नो कम्पनीले पिसाबबाट क्यान्सर पत्ता लगाउने प्रबिधि बिकाश गरेकोले यो प्रबिधि नेपालमा पनि धेरै महत्वपूर्ण हुने बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूताबासका उप नियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालमा स्थायि सरकार रहेको र सरकारले बिदेशबाट शिप, ज्ञान र लगानी भित्र्याउन इच्छुक रहेकोले सबै बिज्ञ र बक्ताहरुलाई आफ्नो शिप, ज्ञान र लगानी नेपालमा गर्न आग्रह गर्नुभएको थियो ।

यसको लागि सरकारले आवश्यक सहयोेग सबै गर्ने र दूतावासको तर्फबाट सम्योजनकारी भूमिका निभाउन तयार रहेको बताउनुभएको थियो । साथै बिज्ञहरुका तर्फबाट प्राप्त सुझाव तथा मनन योग्य बिचारहरुलाई नेपाल सरकारको सम्वन्धित निकायमा पुर्याउन पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

क्योदाई रेमिट्यान्स आईएमईले प्रायोजन गरेको कार्यक्रममा नेपाल र जापानका गरि ७० जना बढी विज्ञहरुको उपस्थिति रहेको थियो ।