(Japan) 18 th March | 2025 | Tuesday | 5:33:41 AM || (Nepal) 2:18:41 AM
 
 


'मलाई लाग्थ्यो तिमी मसँग हुनु भनेको म तन-मनले पूर्ण हुनु हो तर...' तुलसा रेग्मी

TULASHA REGMI   POSTED ON : Sunday, 18 December, 2022 | Views : 3284

'मलाई लाग्थ्यो तिमी मसँग हुनु भनेको म तन-मनले पूर्ण हुनु हो तर...' तुलसा रेग्मी


वास्तवमा म को हुँ र किन यस धर्तीमा मेरो अवतरण भयो ? विश्वमा यति धेरै देश छन् तर नेपालमै किन मेरो जन्म भयो ? अरबौं मानिसहरु थिए तर जन्मनका लागि माता र पिताको रुपमा मैले किन उहाँहरुलाई नै रोजें, या त उहाँहरुले किन मलाई सन्तानका रुपमा रोज्नुभयो । या त मेरो पूर्व जन्मको कर्म अनुुसार मेरो यात्रा तय थियो या त मेरो जन्म मरणको चक्र निरन्तर रुपमा चलिरहेको छ र यस कुरामा म अनभिज्ञ छु र जन्मै पिच्छे अनुत्तरित हुँदै आउँदै जाँदै गरिरहेकी छु ?

यी सारा प्रश्नहरु समुद्रको छाल झैं मस्तिष्कमा आउँछन्, उचित जवाफ नपाए पछि मनलाई वेचैन बनाएर फर्किएर जान्छन् । पुनः केही समयपछि आउँछन्, पुनः अनुत्तरित भएर जान्छन् । 

कसैलाई मलाई जस्तै लाग्छ होला, कसैलाई ‘साइको कुरा’ के गरेको फोकटमा भन्ने लाग्छ होला । जसले जुन तरिकाले व्याख्या गरे पनि सबैजना आ–आफ्ना ठाउँमा सही नै हुन्छन् किनकि हामी प्रत्येक व्यक्ति आ–आफ्नै दृष्टिकोणरुपी चस्मा लगाएर संसारलाई हेर्ने गर्छौं । त्यसैले हामी आफैंमा अलग छौं र यही अलगपनले हाम्रो पहिचान दिएको छ, जसले हाम्रो अस्तित्वलाई कायम राख्नमा सहयोग गरेको छ ।

हिजोका दिनमा, अझ भनौं सानो छँदा लाग्थ्यो मलाई कसैले बुझ्दैनन् । किन भिन्न सोच लिएर जन्मिएँ भनेर दुःख लाग्थ्यो, तर आज बुझ्दैछु, वास्तवमा कसैले कसैलाई पनि साँचो अर्थमा बुझ्न सक्दैन रहेछ । किनकि हामीले अरुलाई मूल्यांकन गर्दा हामी हाम्रो आफ्नो चस्माको प्रयोग गर्छौं, जसले आफ्नो आर्जित ज्ञान अनुसार नै अरुलाई व्याख्या गर्ने गर्दछौं । यसको मतलब अरु को हो भनेर व्याख्या गर्दै गर्दा अन्जानमै म को हुँ भनेर चिनाइरहेका हुँदारहेछौं ।

पहिले त केही बुझ्दछु केही जान्दछु जस्तो लाग्थ्यो तर आजभोली म केही पनि जान्दिन-बुझ्दिन जस्तो लाग्छ । सिकेका कुरा बिर्सिएर पो हो कि भन्ने सोच्छु तर अहँ त्यसरी भुल्ने मेरो बानी छैन । सिक्न पनि मैले छाडेकै छैन तर सिकेर के जानें, जान्नु र नजान्नु विचको फरक केही छ या छैन त्यो पनि मैले आजकाल केही मेसो पाउँदिन ।

सुतेर सपना देख्छु या सपना देखेर सुत्छु, आजभोली म केही भेउ पाउँदिन, किनकि सपना देख्दै गर्दा साँचो लागेको कुरा ब्युँझिए पछि भ्रम रैछ भन्ने लाग्छ अनि सोच्छु हिजोका कुरा आज मसँग छैनन् भने म हिजोलाई कसरी सत्य मान्न सक्छु । यदि हिजो सत्य हैन भने, आज पनि भोली हिजोमै परिणत हुनेछ, यसको मतलब सबै यो पृथ्वी सृष्टि, समय सबै भ्रम नै हुन जानेछन् । यदि त्यसो हो भने म, मेरो अस्तित्व वास्तविक हुन सक्ला र ?

आजभोली म भ्रमित हुँदै आफ्नो अस्तित्व खोज्ने कोसिस गर्दैछु र जन्मनुको कुनै उद्देश्य छ कि भनेर सोचिरहन्छु । केही थाहा लागि हाल्छ कि भनेर वरिपरिका अरुलाई नियाल्छु । 

कोही धनको लागि दौडिएको देख्छु, कोही मानको लागि, कोही ज्ञानको लागि, कोही प्रेमको लागि, कोही अरुको हानी गर्नका लागि, यस्तै यस्तै कति कति । अचम्म त तब लाग्छ, जब आफूले केही गर्न नसकेर अरुको बदनाम गरेर खुशी हुन खोज्नेहरुको जमात देख्दा । मलाई अचम्म लाग्नु कुनै अचम्मको कुरा होइन, किनकि मलाई देखेर पनि कसैलाई अचम्म लाग्दो हो, यही सोचेर चित्त बुझाउँछु ।

त्यसैगरी कसैसँग भेटिनुको कुनै अर्थ हुन्छ जस्तो लाग्छ किनकि यति विघ्न मान्छेको भिडमा किन कोही व्यक्तिसँग मात्रै चिनजान हुन्छ, आत्मीयता बढ्छ । किन कसैलाई देख्दा मात्रै पनि खुशी लाग्छ, अनि किन कसैको अनुहार देख्दा पनि दिक्क लाग्छ । कारण पक्कै छ किनकि विनाकारण केही हुन्छ जस्तो मलाई लाग्दैन तर बिडम्बना नै भनौं कारण थाहा नभए हामी संयोग मानेर हामी आफ्नो उत्तरदायित्वबाट पन्छिन खोज्छौं ।

कारण खोज्ने क्रममै म तिमीसँगको भेट अनि सामिप्यताको कारण खोजिरहेकी छु आजकल । मलाई लाग्थ्यो म नै तिमी हुँ अनि तिमी नै म हौ, किनकि मैले तिमी र ममा फरक देखिँन तर तिमी भन्थ्यौ हामीमा कुनै समानता छैन । सायद तिमीले भनेको कुरा मैले त्यतिबेला बुझिँन । त्यही भएर होला समयले नै मलाई बुझाइदिएको छ, उदाहरण नै उदाहरण दिएर, जसलाई चाहेर पनि बिर्सन सक्दिँन । मलाई लाग्थ्यो तिमी मसँग हुनु भनेको म तन–मनले पूर्ण हुनु हो तर तिमी सोच्थ्यौ कसैले दिएको रित्तोपनालाई कसैले पूर्णता प्रदान गर्न सक्दैन । तिम्रो कुरा बुझ्न मलाई समय लाग्यो किनकि म रित्तिएर पुनः पूर्ण हुन सक्छु किनभने जोड या घटाउले मेरो पूर्णतामा कुनै असर गर्दैन तर तिम्रो बुझाइमा रित्तिएको ठाउँ कदापि पूर्ण हुन सक्दैन ।

सबै उस्तै हुँदा हुन् त यो संसार यति रमाइलो नहुँदो हो । नराम्रो नहुँदो हो त राम्रोको महत्व नहुँदो हो, असत्य नहुँदो हो त सत्यको महत्व नहुँदो हो, अन्याय नहुँदो हो त न्यायको महत्व नहुँदो हो, दुःख नहुँदो हो त सुखको महत्व नहुँदो हो । तर राम्रो–नराम्रो, सत्य– असत्य, न्याय–अन्याय, सुख–दुःख केलाई मान्ने भन्ने कुरा पनि समय र परिस्थिति अनुसार निर्धारण गरिन्छन् या यी सबै भ्रम मात्रै हुन् भन्ने कुरा मैले बुझेकी छैन ।

म को हुँ भन्ने सम्म थाहा नहुनेलाई अन्य कुरा थाहा नहुनु सामान्य मान्न थालेकी छु । आफैंलाई बुझ्न नसक्नेले अरुलाई बुझ्ने कोसिस गर्नु केवल अहमको तृप्ति हो भन्ने बुझ्न थालेकी छु । त्यसैले आजकल म जस्तो ‘भिन्नतामा समानता’ मात्रै हैन, ‘समानतामा भिन्नता’ देख्नेहरु पनि उत्तिकै हुन्छन् भन्ने बुझ्न थालेकी छु ।