(Japan) 12 th October | 2025 | Sunday | 10:24:03 AM || (Nepal) 7:09:03 AM
 
 

कवि रविन शर्माको कविता संग्रह ‘देउता बनाउने कारखाना’ को कर्मभुमी लोकार्पण

  POSTED ON : Tuesday, 28 January, 2025 | Views : 786

कवि रविन शर्माको कविता संग्रह ‘देउता बनाउने कारखाना’ को कर्मभुमी लोकार्पण


टोकियो, जापान ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ७२ औ साहित्य शृंखला तथा कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को आइतबार सोलमारी मुरा हल, शिन-ओकुबोमा कर्मभूमि लोकार्पण सम्पन्न भएको छ ।

अनेसास जापान च्याप्टरका अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता विशिष्ट साहित्यिक व्यक्तित्वहरू तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरूको उपस्थितिमा शर्माको ‘देउता बनाउने कारखाना’ लोकार्पण गरिएको थियो ।

कार्यक्रममा राजदूत सुवेदीले कवि रविन शर्माको अद्वितीय साहित्यिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै “रविन व्यक्ति मात्र होइनन्, व्यक्तित्व हुन्।” भन्नुभयो । उहाँले कवि रविन शर्मा जस्ता कवि र लेखकहरूले समाजलाई सकारात्मकताको बाटोमा कलमको सहायताले अघि बढाउन ठूलो योगदान गरिरहेका कुरा पनि बताउनुभयो। नेपाली भाषा र साहित्यमा विभिन्न समयका लेखकहरूको योगदानबारे चर्चा गर्नुभयो।

कार्यक्रममा अनेसास जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठकले स्रष्टा परिचय गर्नुभएको थियो भने पुस्तक चर्चा साहित्यकार  मूर्तिकार ‘मञ्जुल मितेरी’ले गर्नुभएको थियो। एनआरएनए जापान का उपाध्याक्ष सुभास लामिछाने ,पूर्व संसद डा.सूर्य पाठक, अनेसास BOT उप सभापति बिष्णु प्रसाद घिमिरे अनेसास केंद्रीय पूर्ब अध्यक्ष प्रकाश पौडेल माइला ,अनेसास जापान संस्थापक अध्यक्ष डा कुमार बस्नेत,पत्रकार राजु सुबेदी लगाएत ले शुभकामना मंतब्य राख्नु भएको थियो ।

कवि रविन शर्माले एकल कविता वाचनको क्रममा कृतिभित्रका ‘पाहुना’, ‘सिन्दूर’, ‘आमा म घर फर्कें’, ‘आराध्याको पहिलो दसैँ’ जस्ता अति नै मार्मिक र शक्तिशाली कविताहरू वाचन गर्नुभएको थियो। साथै केही नवसिर्जित कविताहरू पनि वाचन गर्नुभएको थियो।

कवि रविन शर्माको कविता वाचन भइरहेको बेला खचाखच भरिएको हल पनि शान्त र मन्त्रमुग्ध भएको थियो। मौनता र सुन्यताको बीचमा सबैका आँखामा कविताका भावहरूको मिठास झल्किएको देखिन्थ्यो ।

‘देउता बनाउने कारखाना’ कृति लोकार्पण कार्यक्रमको सञ्चालन अनेसास जापान च्याप्टरकी सदस्य बिनिशा सापकोटाले गर्नुभएको थियो भने अतिथिहरूलाई स्वागत अनेसासकी सचिव सङ्गीता कुँवरले गर्नुभएको थियो ।

जापानलाई विगत लामो समयदेखि कर्मभूमि बनाएर नेपाली भाषा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान दिइरहनु भएको कवि रविन शर्माको मातृभूमि लोकार्पण भने गत मंसिर २२ गते शनिबारका दिन पर्वतको चु्वाको मंगलोदय माविमा भएको थियो ।