(Japan) 29 th September | 2026 | Tuesday | 9:13:00 PM || (Nepal) 5:58:00 PM
 
 


जापान लक्ष्मी राजवंशी हत्या प्रकरण : सन्जु तामाङमाथि हत्या अभियोगमा मुद्दा दायर, हत्या बयान दर्दनाक

  POSTED ON : Wednesday, 30 September, 2026 | Views : 200


फुकुओका, जापान ।

जापानको फुकुओका सहरमा गत अगस्टमा भएको नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या प्रकरणमा फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले २८ वर्षीया नेपाली युवती सन्जु तामाङ विरुद्ध हत्या अभियोग दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले मंगलबार, सेप्टेम्बर २९ मा उनलाई हत्या अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । हत्या अभियुक्त सन्जु फुकुओका सहरको हाकाता क्षेत्रमा बस्दै आएकी व्यावसायिक कलेजकी विद्यार्थी हुन् ।


लक्ष्मीमाथि कोठामै पुगेर सांघातिक आक्रमण

अभियोगपत्र अनुसार, हत्या अभियुक्त र संलग्नहरुले दिएको बयान अनुसार अगस्ट १८ राति करिब ११ः५५ बजेदेखि अगस्ट १९ बिहान ०ः१५ बजेसम्मको समयमा फुकुओका सहरको चुओ-कु क्षेत्रमा रहेको २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको घरमा पुगेर उनको टाउकोमा धातुको भाँडोले पटक–पटक प्रहार गरेको, त्यसपछि घाँटीमा डोरीले कसेर तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसालेको र डुबेर मृत्यु भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लक्ष्मीको टाउकोमा कडा वस्तुले प्रहार गरेको जस्तो देखिने धेरै चोटहरू थिए । उनको घरको सुत्ने कोठामा रगतका दाग तथा कुटपिटबाट जोगिन संघर्ष भएको संकेतसमेत फेला परेको थियो । शरीरमा हात उठाएर आफूलाई जोगाउने क्रममा लागेको हुनसक्ने चोटहरू पनि भेटिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।


नदीमा भेटिएको थियो लक्ष्मीको शव

अगस्ट १९ तारिख बिहान फुकुओका सहरको केन्द्रमा पर्ने तेन्जिन क्षेत्र हुँदै बग्ने नाकागावा नदीमा एक महिलाको शव तैरिरहेको अवस्थामा भेटिएको थियो । अनुसन्धानपछि मृतक २५ वर्षीया व्यावसायिक कलेजकी विद्यार्थी लक्ष्मी राजवंशी भएको पुष्टि भएको थियो ।

प्रहरीले घटनास्थल र शवको अवस्थाका आधारमा हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अघि बढाएको थियो । घटनापछि लक्ष्मीको घरमा पनि अनुसन्धान गर्दा रगतका दाग तथा झगडा भएको संकेत फेला परेको थियो ।

लक्ष्मी करिब तीन वर्षअघि नेपालबाट जापान आएकी थिइन् । उनी पढाइसँगै पार्टटाइम काम गर्दै आएकी थिइन् । घटनाको अघिल्लो रात करिब १०ः३० बजे कामबाट निस्किएपछि साइकलमा घर फर्किएको अनुमान गरिएको थियो । त्यसपछि उनको सामाजिक सञ्जालमा राति करिब ११ः४० बजे अन्तिम पोस्ट भएको र भोलिपल्ट बिहान उनको अवस्थाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।


पक्राउ परेका तीनमध्ये एक जनाविरुद्ध मात्र अभियोग

फुकुओका प्रहरीले सेप्टेम्बर ८ मा घटनामा संलग्न भएको आशंकामा तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमा २८ वर्षीया सन्जु तामाङ, २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रविण राना थिए ।

तर सेप्टेम्बर २९ मा सरकारी वकिलको कार्यालयले २८ वर्षीया सन्जुविरुद्ध मात्र हत्या अभियोग दायर गरेको छ । अन्य दुई जनालाई भने तत्काल अभियोग नलगाई अर्थात् थप अनुसन्धानका लागि अभियोजन निर्णय स्थगित गर्दै रिहा गरिएको हो । यसको अर्थ उनीहरूमाथिको अनुसन्धान पूर्ण रूपमा समाप्त भएको भन्ने होइन । थप अनुसन्धानमा उनिहरुको पनि संलग्नता देखिएमा पक्राउ पर्न सक्नेछन् भने उनिहरुले जापान प्रहरीको अनुमतिबिना बाहिर जान पाउने छैनन् ।


अभियुक्तले आरोप अस्वीकार गर्दै आएकी थिइन्

अनुसन्धानका क्रममा सन्जु तामाङले प्रहरीसमक्ष आफूले हत्या नगरेको भन्दै आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेको जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको थियो ।

यसअघि प्रहरीले तीनै जनाले मिलेर हत्या गरेको आशंकामा अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानको क्रममा प्रत्यक्ष हिंसात्मक कार्य एक जना महिलाले गरेको हुनसक्ने निष्कर्ष तर्फ प्रहरी पुगेको जापानी रिपोर्टहरूले जनाएका थिए ।

टेलिभिजन निशी निप्पोनका अनुसार घटनाको समयमा अन्य दुई जना घटनास्थलमा नभई लक्ष्मीका एक पुरुष परिचितसँग रहेको र उनीहरूलाई लक्ष्मीसँग सम्पर्क गर्नबाट रोक्ने वा घटनाको जानकारी ढिला गराउने भूमिकामा थिए कि भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो । यो विवरण भने अनुसन्धान स्रोतमा आधारित आरोप वा सम्भावना मात्र हो, अदालतबाट प्रमाणित तथ्य भने होइन ।


प्रेम सम्बन्ध सम्बन्धी विवाद पृष्ठभूमि हुनसक्ने

प्रहरीले घटनाको पृष्ठभूमिमा प्रेम सम्बन्ध सम्बन्धी विवाद रहेको हुनसक्ने आशंका गर्दै अनुसन्धान गरेको थियो । जापानी रिपोर्ट अनुसार अभियुक्त सन्जु र मृतक लक्ष्मीबीच एकै पुरुषसँग प्रेम सम्वन्ध सम्बन्धित विवाद रहेको देखिएको थियो ।

तर घटनाको वास्तविक कारण, घटनाअघि उनीहरूबीच के–कस्तो विवाद थियो र हत्या कसरी भएको थियो भन्ने विषयमा अन्तिम निष्कर्ष अदालतको प्रक्रियाबाटै स्पष्ट हुने छ।


शव नेपाल पठाएर दाहसंस्कार

लक्ष्मी राजवंशीको शव सेप्टेम्बर ११ मा विमान मार्फत जापानबाट नेपाल पठाइएको थियो । उनका परिवार तथा आफन्तले काठमाडौं विमानस्थलमा शव बुझेर गृह जिल्ला झापा लगि राजवंशी परम्परा अनुसार दाहसंस्कार गरेका थिए ।

लक्ष्मीको मृत्युले जापानमा रहेका नेपाली विद्यार्थी तथा नेपाली समुदायमा गहिरो शोक उत्पन्न गरेको छ । जापानलाई अध्ययन र रोजगारीका लागि सुरक्षित गन्तव्यका रूपमा हेरेर आउने नेपाली युवामाझ समेत यो घटनाले सुरक्षा र आपसी सम्बन्धसम्बन्धी चिन्ता बढाएको छ।


अब अदालतको प्रक्रियातर्फ सबैको ध्यान

अभियोग दायर भएसँगै यो घटना अब जापानको न्यायिक प्रक्रियामा प्रवेश गरेको छ । अभियोजन पक्षले अदालतमा आरोप प्रमाणित गर्न आवश्यक प्रमाण प्रस्तुत गर्नेछ भने अभियुक्त पक्षले आफ्नो प्रतिरक्षा गर्नेछ ।

अभियुक्तले यसअघि आरोप अस्वीकार गर्दै आएको अवस्थामा अदालतमा प्रस्तुत हुने प्रमाण, साक्षी, घटनास्थलसम्बन्धी प्रमाण र अन्य अनुसन्धान विवरणले घटनाको वास्तविक क्रम तथा जिम्मेवारी निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

अदालतबाट अन्तिम फैसला नआएसम्म अभियोगमा उल्लेख भएका आरोपलाई आरोपकै रूपमा बुझ्नुपर्ने हुन्छ।