(Japan) 1 st September | 2026 | Tuesday | 1:05:58 PM || (Nepal) 9:50:58 AM
 
 


जापानी विदेशमन्त्री मोतेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच नेपालको बाढिको असरबारे टेलिफोन वार्ता

  POSTED ON : Tuesday, 01 September, 2026 | Views : 104

जापानी विदेशमन्त्री मोतेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच नेपालको बाढिको असरबारे टेलिफोन वार्ता


टोकियो, जापान ।

जापानी विदेशमन्त्री तोशिमित्चु मोतेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच सोमबार टेलिफोन वार्ता भएको छ ।


दुई नेताबिच मुख्यतया नेपाल-चीन सीमाक्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण भएको ठुलो जनधनको क्षति, बेपत्ता नागरिकहरूको खोजी, र जापानले उपलब्ध गराउने आपत्कालीन राहत सहयोगका विषयमा केन्द्रित भएको बताइन्छ ।


जापानी विदेशमन्त्री मोतेगीले बाढी र पहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावित नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गरेका थिए ।


संकटको यस घडीमा जापान नेपालको साथमा रहेको र आवश्यक पर्ने जुनसुकै थप सहयोग उपलब्ध गराउन तयार रहेको मोतेगिले स्पष्ट पारे । बाढीपहिरोमा परी हालसम्म सम्पर्कविहीन भएका ५ जना जापानी नागरिक सहित अन्य बेपत्ता व्यक्तिहरूको चाँडोभन्दा चाँडो खोजी र उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोगको आग्रह गरे ।


जापानले नेपालका लागि पाल र कम्बल जस्ता आपत्कालीन राहत सामग्री दिने निर्णय गरिसकेको छ । यसका साथै अन्तर्राष्ट्रिय संस्थामार्फत थप सहायता पठाउने र जापानको अन्तर्राष्ट्रिय आपत्कालीन उद्धार टोली नेपाल पठाउने विषयमा तयारी र छलफल भइरहेको छ ।


परराष्ट्रमन्त्री खनालले जापान सरकार र जापानी जनताबाट प्राप्त समवेदना तथा सहयोगको आश्वासनका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै बेपत्ता जापानी नागरिकहरूको खोजी र उद्धार कार्यलाई तीव्र पारिने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।