टोकियो, जापान ।
जापानको तल्लो सदन (लोअर हाउस) मा आइतबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टीले ऐतिहासिक जित हात पारेको छ। एनएचकेको अनुसार ४६५ सिट रहेको तल्लो सदनमा एलडीपीले एक्लै ३१६ सिट जित्दै दुई(तिहाइभन्दा बढी बहुमत हासिल गरेको हो।
निर्वाचनअघि १९८ सिटमा सीमित रहेको एलडीपीको यो नतिजा युद्धपछिको जापानी राजनीतिमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा ठूलो प्रतिनिधित्वमध्ये एक मानिएको छ । गठबन्धन साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर सत्तारूढ गठबन्धनले कुल ३५२ सिट जितेको छ, जुन अघिल्लो बहुमत २३३ सिटको तुलनामा उल्लेखनीय वृद्धि हो।
माथिल्लो सदनको अवरोध पार गर्न सक्ने अवस्था
यो नतिजासँगै एलडीपी नेतृत्वको गठबन्धनले अब माथिल्लो सदन ९अपर हाउस० मा बहुमत नभए पनि महत्वपूर्ण विधेयक र बजेटमाथि देखिन सक्ने अवरोधलाई तल्लो सदनमा दुई(तिहाइ मतबाट उल्ट्याउन सक्ने कानुनी क्षमता प्राप्त गरेको छ। साथै, २६१ सिटको सुपरमेजोरिटी नाघेकाले सत्तारूढ गठबन्धनले तल्लो सदनका सबै १७ वटा स्थायी समितिको नेतृत्वसमेत हात पार्नेछ।
विपक्षी गठबन्धनको ठूलो पराजय
निर्वाचनअघि गठन भएको विपक्षी केन्द्रीय सुधार गठबन्धन जसमा कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापान र कोमेइतो सामेल थिए — ले ठूलो पराजय भोगेको छ । गठबन्धनको सिट संख्या १६७ बाट घटेर ४९ मा झरेको छ। यस पराजयपछि सह(नेता तथा पूर्व प्रधानमन्त्री योशिहिको नोदाले राजीनामाको संकेत दिएका छन्।
२०१२ को चुनावको झल्को
यसपटकको परिणामले २०१२ को चुनावको सम्झना दिलाएको छ, जब एलडीपीले २९४ सिट जित्दै पुनः सत्ता कब्जा गरेको थियो, जुन विजयले पूर्व प्रधानमन्त्री शिन्जो आबेको करिब आठ वर्षे शासनको आधार तयार गरेको थियो । एलडीपीको अघिल्लो सबैभन्दा राम्रो प्रदर्शन सन् १९८६ मा, यासुहिरो नाकासोनेको नेतृत्वमा, ३०० सिट जित्दा देखिएको थियो।
ताकाइचीको लोकप्रियता निर्णायक
टोकियो विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक यु उचियामाका अनुसार एलडीपीको ठूलो जितको मुख्य कारण प्रधानमन्त्री ताकाइचीको उच्च लोकप्रियता हो ।
“जापानकी पहिलो महिला प्रधानमन्त्री बनेपछि ताकाइचीले नयाँ र ताजा छवि बनाइन्,” उनले भने, “जबकि बिपक्षि दलहरु पुरानो शैलीको देखिन गयो, जसले मतदातालाई आकर्षित गर्न सकेन।”
अन्य दलहरूको अवस्था
जापान इनोभेसन पार्टीले ३६ सिट जिते पनि, एलडीपीले एक्लै बहुमत हासिल गरेकाले गठबन्धनमा उसको प्रभाव घट्ने अनुमान गरिएको छ ।
नयाँ दल टिम मिराइले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै ११ सिट जितेको छ।
सानसेइतोले सिट संख्या २ बाट बढाएर १५ पुर्याएको छ।
डेमोक्रेटिक पार्टी फर द पिपलले २८ सिट जितेको छ।
वामपन्थी दलहरू — जापानी कम्युनिस्ट पार्टी र रेइवा शिनसेनगुमी — को सिट संख्या घटेको छ।
कठिन मौसमबीच सम्पन्न निर्वाचन
३६ वर्षपछि पहिलोपटक जाडो याममा सम्पन्न भएको यस निर्वाचनमा पूर्वी तथा उत्तरी जापानमा भारी हिमपात र चिसो मौसमले प्रचार–प्रसारलाई प्रभावित गर्यो । छोटो चुनावी अवधिका कारण स्थानीय प्रशासनलाई मतदान व्यवस्थापनमा समेत चुनौती सामना गर्नुपर्यो । अग्रिम मतदान गर्ने मतदाताको संख्या भने अघिल्लो चुनावको तुलनामा करिब २९ प्रतिशतले बढेको छ।
प्रधानमन्त्री ताकाइचीलाई फेब्रुअरी १८ मा संसद्का दुवै सदनबाट पुनः प्रधानमन्त्रीका रूपमा अनुमोदन गरिने अपेक्षा गरिएको छ । उनले हालका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना नरहेको स्पष्ट पारेकी छन् ।
यस आकस्मिक निर्वाचनमा प्राप्त ठूलो विजयले ताकाइची सरकारलाई आगामी बजेट र नीतिगत एजेन्डा सहज रूपमा अघि बढाउन बलियो आधार प्रदान गरेको छ, साथै सत्तारूढ दलभित्र देखिएका आन्तरिक विरोधका स्वरहरू पनि हालका लागि शान्त भएको विश्लेषकहरू बताउँछन् ।