टोकियो, जापान ।
जापानस्थित नेपाली समुदायले यस वर्ष पनि महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने तयारी गरेका छन्। बिहुँकोट समाज जापानको आयोजनामा टोकियो र ओसाका क्षेत्रमा विशेष धार्मिक कार्यक्रमहरू आयोजना हुने भएका छन्।
टोकियोको ओटा सिटी, कामाता स्थित चौतारो रेष्टुरेण्टमा २०२६ फेब्रुअरी १५ तारिख आइतबारका दिन मध्यान्ह ११ः३० बजेदेखि महाशिवरात्रि पर्व विशेष कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा शिव पूजा, रुद्राभिषेक, शिव महिमा वर्णन, धौलागिरी भजन समूहद्वारा भजन–कीर्तन तथा दिव्य प्रवचन सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा गुरु हरि रिजालको विशेष उपस्थिति रहनेछ ।
त्यसैगरी बिहुँकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको आयोजनामा ओसाकामा पनि महाशिवरात्रि विशेष कार्यक्रम २०२६ हुने भएको छ । कार्यक्रम २०२६ फेब्रुअरी १५ तारिख आइतबार बेलुका ठीक ८ बजेदेखि ओसाका सिटी, हिरानो कु, कामिनिशी क्षेत्रमा अवस्थित माउन्ट एभरेस्ट रेष्टुरेण्टमा सम्पन्न हुनेछ।
कार्यक्रममा शिव पूजन, रुद्राभिषेक, भजन–कीर्तन तथा प्रसाद ग्रहण गरिनेछ। कार्यक्रममा गुरु श्री खिमानन्द कंडेल र गुरु श्री निलकण्ठ रिजालको उपस्थिति रहने जानकारी दिइएको छ।
आयोजक संस्थाले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक भावनासहित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिन आग्रह गरेको छ।