टोकियो, जापान ।
जापानको प्रशान्त तटमा जारी गरिएको सुनामीको चेतावनी अधिकांश क्षेत्रमा हटाइएको छ । होक्काइदोदेखि वाकायामा प्रान्तसम्म ३ मिटरसम्मको सुनामी चेतावनी जारी गरिएपछि २० लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको थियो ।
सुनामीको चेतावनी पछि तटिय क्षेत्रका कयौं बिमानस्थल अवरुद्ध हुँदा दर्जनौं उडान र रेल सेवाहरु अवरुद्ध बन्न पुगेका थिए ।
२० लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएकोमा साँझ ७ बजेपछि होक्काइदो नजिकका क्षेत्रमा मात्र चेतावनी कायम राखिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार बुधबार साँझ ५ बजेसम्म २२९ नगरपालिकाका २० लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।
अधिकारीहरूले मानिसहरूलाई समुद्रबाट टाढा रहन र सुनामी आउने सम्भावना भएकाले डुङ्गा नचलाउन भनेका थिए ।
ग्रेटर टोकियो क्षेत्र सहित तोकाइदो लाइन, योकोसुका लाइन र शोनान शिन्जुकु लाइन जस्ता यात्रु रेलहरू दिनभर प्रभावित भएका थिए ।
जापानको उत्तरपूर्वी क्षेत्रमा रहेको सेन्दाई विमानस्थलको धावनमार्ग बन्द गरिएकोमा साँझबाट पुन संचालनमा आएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका एक अधिकारीले तटीय क्षेत्र, नदीहरू र अन्य त्यस्ता स्थानहरूमा रहेका मानिसहरूलाई सुनामी जारी रहेको क्षेत्रमा उच्च जमिन, खाली भवनहरू र अन्य सुरक्षित स्थानहरूमा सर्न आग्रह गरिरहेका छन्।
बुधबार बिहान रूसको कामचटकाको पूर्वी तटमा ८.८ म्याग्निच्युडको भूकम्प गएपछि सो क्षेत्रमा सुनामी र भूकम्पले ब्यापक क्षति पुर्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।